विश्‍वकपमा पाकिस्तानको विजयी सुरुवात, नेदरल्यान्ड्स पराजित

काठमाडौं, १९ असोज । भारतमा जारी एकदिवसीय विश्‍वकपमा पाकिस्तानले विजयी सुरुवात गरेको छ । पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले हराएको हो ।

पाकिस्तानले दिएको २८७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४१ ओभरमा २०५ रनमा अलआउट भयो । नेदरल्यान्ड्सका लागि बास डे लिडेले सर्वाधिक ६७ रन बनाए भने विक्रमजित सिंहले ५२ रन बनाए । अन्यले उल्लेख्य योगदान दिन सकेनन् ।

पाकिस्तानका हारिस राउफले ३ विकेट लिए भने हसन अलीले २ तथा शाहीन अफ्रिदी इफ्तिखार अहमद, मोहम्मद नवाज, शादाब खानले १-१ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा सबै विकेट गुमाएर २८६ रन बनायो । उसका लागि मोहम्मद रिजवान र सौद सकीलले समान ६८ रन बनाए । सुरुवाती पावरप्लेमै ३ विकेट गुमाएको पाकिस्तानका लागि यी दुई मिलेर १२० रनको साझेदारी गरेका थिए ।

मोहम्मद नवाजले ३९ तथा शादाब खानले ३२ रन बनाए । नेदरल्यान्ड्सका बास दे लिडेले ९ ओभरमा ६२ रन खर्चेर ४ विकेट लिए । त्यस्तै कोलिन एकरमेनले २ विकेट लिँदा आर्यन दत्त, लोगान भान बिक र पल भान मिकेरेनले १ १ विकेट हात पारे ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय