आइसिसी विश्वकप क्रिकेट आजदेखि भारतमा सुरु हुँदै
उद्घाटन खेलमा इंग्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै
काठमाडौं, १८ असोज । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप आजदेखि भारतमा सुरु हुँदै छ । विश्वकप क्रिकेटको १३औं संस्करण भारतमा आयोजना हुन लागेको हो ।
विश्वकपको उद्घाटन खेलमा इंग्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै छन् । यी दुई टोली गत संस्करणको दुई फाइनलिस्ट थिए । फाइनलमा इंग्ल्यान्ड बाउन्ड्री काउन्टका आधारमा विजयी हुँदै पहिलोपटक विश्व विजेता बनेको थियो ।
न्युजिल्यान्ड उक्त खेलको बदला लिँदै विश्वकपमा सुखद सुरुवात गर्न चाहन्छ । दुवै टोलीलाई उपाधि दाबेदारका रुपमा हेरिएको छ । यी दुई टोलीबीचको खेल दिउँसो सवा २ बजेदेखि अहमदाबादमा सुरु हुने छ ।
विश्वकप क्रिकेट अस्ट्रेलियाले सर्वाधिक पाँच पटक जितेको छ भने भारत र वेस्ट इन्डिजले २-२ पटक जित्दा पाकिस्तान, श्रीलंका र इंग्ल्यान्डले एक-एक पटक जितेका छन् ।

