मुल्यबृद्धीको बिरोधमा शान्तिपूर्ण र साङ्केतिक धर्ना

काठमाडौ,१४असोज।अप्रत्याशित मुल्यबृद्धी नियन्त्रण र बजार अनुगमनको माग गर्दै सरकारका विरुद्ध प्रदर्शन गरिएको छ।
पिडित नागरिकको नाममा उनीहरुले आइतबार साँझ जोरपाटी चोकमा विभिन्न नारा सहितको पर्चा छातिमा टाँसेर र मुखमा पट्टि बाँधेर उभिएका थिए।
ठुला खाद्यान्न गोदाममा अनुगमन गर्नुपर्ने,आजको आवश्यकता जनताप्रति उत्तरदायी सरकार,दैनिक उपभोग्य बस्तुमा भएको मुल्यबृद्धी नियन्त्रण गर्नुपर्ने जस्ता पर्चा छातिमा टासेर उनीहरु आधा घन्टासम्म चोकमा उभिएका थिए।
सोही समयमा सामाजिक अभियन्ता कुमार सुवेदीले सरकारले जनताको पक्षमा काम नगरेको भन्दै लोकतन्त्रको आडमा लुटतन्त्र मच्चाएको आरोप लगाए। उनले काठमाडौ मै यो अवस्था हुँदा दुर्गमको अवस्था के होला ? भन्ने प्रश्न समेत गरे।
भ्रष्टाचार र कुशासनको कारण अर्थतन्त्र धरासयी हुँदै गएको भन्दै सुवेदीले जनतालाई गरिखाने वातावरण नभएको जिकिर गरे ।
सोही क्रममा बक्ताहरुले अपराधीलाई जेलबाट छुटाउने,अबिर जात्रा गर्ने र जनताको समस्यामा ध्यान नदिने कुराको पनि बिरोध गरे ।
यसैगरी युवा अभियन्ता राजेश दाहालले सरकारले जनताको दैनिक समस्यामा ध्यान नदिएको भन्दै नुन,तेल र चिनीको मुल्यबृद्धिसंगै किर्तिम अभाव समेत सिर्जना गरेर जनताको ढाड सेक्ने काम गरेको बताए । उनले दैनिक उपभोग्यबस्तुमा भएको मुल्यवृद्धि फिर्ता नगरेको भन्दै पेट्रोल,डिजेल र ग्यासको मूल्य पनि अझै बढी भैरहेको जिकिर गरे।
उनले जुन जुन दल मिलेर सरकार गठन भएपनी जनताको सरकार बन्न नसकेको भन्दै यो साङ्केतिक र शान्तिपूर्ण धर्ना गर्नुपरेको बताए।
अर्का बक्ता शम्भु अधिकारीले जनताले सरकार भएको अनुभुती कहिले गर्न पाउने ? भन्दै प्रश्न गरे । उनले भने-‘सरकारले जनताको पिरमर्कामा जनतासँगै हुनुपर्छ भन्ने मान्यता भुल्न मिल्दैन।’
पिडित नागरिक भनेर आयोजना गरिएको भए पनि कार्यक्रममा सत्ता पक्ष र प्रतिपक्षमा रहेका राजनीतिक दल सम्बद्ध कार्यकर्ता देखिन्थे।


