साफ यु-१९ च्याम्पियनसिप: माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं, ८ असोज । नेपाल साफ यु-१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको माल्दिभ्ससँगको खेल जितेपछि नेपाल सेमिफाइनलमा पुगेको हो ।
दशरथ रंगशालामा भएको खेलमा नेपाल ४-१ ले विजयी भएको हो । नेपालको जितमा समिर तामाङले दुई गोल गरे भने प्रशान्त लक्षम र निराजन धामीले एक-एक गोल गरे ।
खेलको १७औं मिनेटमा प्रशान्तले टाढाबाट प्रहार गरेको बल विपक्षी गोलरक्षकले मेसो नपाउँदा बारमा लागेर गोल भएको थियो । ३०औं मिनेटमा समिर तामाङले राम्रो गोल गरेपछि पहिलो हाफमा नेपाल २-० ले अगाडि रहेको थियो ।
३५औं मिनेटपछि दुवै टोली १०-१० खेलाडीमा समेटिएका थिए । खेलका दौरान पटकपटक विवाद गरिरहेका माल्दिभ्सका कप्तान मोहमद हसन र नेपालका फरवार्ड सरोज डङ्गोलले रातो कार्ड खाएपछि दुवै टोली १० खेलाडीमा समेटिएका थिए ।
दोस्रो हाफको ५८औं मिनेटमा माल्दिभ्सले गोल फर्काएर खेलमा फर्कने प्रयास गरेको थियो । तर अन्त्यतिर नेपालले थप २ गोल गरेपछि ४-१ को जीत निकाल्न सफल भयो । ८८औं मिनेटमा निराजनले गोल गरे भने इन्जुरी समयमा समिरले सहज हेडिङ गर्दै नेपालको ४-१ को जित पक्का गरे ।
यस जितसँगै नेपाल समूह उपविजेता हुँदै सेमिफाइनलमा स्थान बनायो । नेपालले सम्भवतः सेमिफाइनलमा भारतको सामना गर्नु पर्ने छ ।

