पूर्वसांसद पोखरेल एमाले बागमतीको अध्यक्षका आकाङ्क्षी

काठमाडौं, ८ असोज । पूर्वसांसद एवम् नेकपा एमालेका नेता कृष्णभक्त पोखरेल पार्टीको बागमती प्रदेश अध्यक्षको आकाङ्क्षीका रुपमा चर्चामा आएका छन् ।
नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्व छनोट गर्नका लागि अधिवेशन नजिकिँदै छ । त्यसमा उनी प्रदेशको अध्यक्ष पदमा आफुलाई आकाङ्क्षीका रुपमा प्रस्तुत गरेका हुन् ।
यसअघि रामेछापका कैलाश ढुंगेल, काठमाडौँका सानु श्रेष्ठ, मकवानपुरका कृष्णप्रसाद दाहाल र नुवाकोटका केशवराज पाण्डे प्रदेश कमिटी अध्यक्षको आकाङ्क्षीका रूपमा चर्चामा आएका थिए ।
आफू अध्यक्षको आकाङ्क्षी रहेको स्वीकार गर्दै पोखरेलले साथीभाइहरूसँग सरसल्लाह गर्दा प्रदेश कमिटीको अध्यक्षमा उठ्ने खालका सुझावका आधारमा अघि बढ्न खोजेको बताए ।
सर्वस्वीकार्य व्यक्तिका रूपमा पोखरेललाई अघि बढ्न नेतृत्वले तयारी गरेको बुझिएको छ । यसैबीचमा पोखरेलले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका छन् ।
पोखरेल चितवनबाट दुईपटक सांसद भइसकेका छन् । उनी २०७० र ७४ सालको निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट विजयी हुँदा यसपटकको चुनावमा भने रास्वपा सभापति रवि लामिछानेसँग पराजित भएका थिए ।

