सुन प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइने

काठमाडौं, २७ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदै छ ।
लामो समयको अनुसन्धान सकेर सिआइबीले रायसहितको अनुसन्धान प्रतिवेदन तयार पारेको छ । आरोपीविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने सिआइबीको तयारी छ ।
उक्त सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा स्वास्थ्यका कारण एक जना हिरासत बाहिर रहे पनि ३० जना प्रहरी नियन्त्रणमा छन् । पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् । उक्त प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन् ।
गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

