नेम्वाङको अन्त्यष्टी भोलि मात्रै, महासचिव पोख्रेल चीनबाट आउँदै

काठमाडौं, २६ भदौ। नेकपा एमाले उपाध्यक्ष एवं पुर्व सभामुख सुवासचन्द्र नेम्वाङको अन्त्यष्टि भोलि बुधबार मात्रै हुने भएको छ । सोमबार राति हृदयघात बाट निधन भएका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि भोलि सम्म पार्टी मुख्यालयमा राखिने एमालेले जनाएको छ।

यसैगरी पार्टी उपाध्यक्ष नेम्वाङको दु:खद निधनको खबर पाएपछि चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनमा भ्रमणमा रहेका महासचिव शंकर पोख्रेल आजै काठमाडौ फर्किने भएका छन् ।

पोख्रेलसंगै भ्रमणदलमा रहेका पत्रकार राजेश राइका अनुसार महासचिव पोखरेल आफ्नो सम्पुर्ण पुर्व निर्धारित कार्यक्रम रद्द गरेर आज नेपाल फर्किन लागेका हुन् । पोख्रेल आजै छिङ्हाईको सिनिङ हुँदै छेन्दु भएर नेपाल फर्किन लागेको पत्रकार राइले परेवान्युजलाई जानकारी दिए।

यसपछिको सम्पुर्ण कार्यक्रम रद्द भएको र टिकट पाएको अवस्थामा भ्रमण दलको सबै सदस्य पनि आज वा भोलिसम्म नेपाल फर्किने निर्णय भएको भ्रमण दलमै सहभागी नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए।

पत्रकार राइका अनुसार सबै भ्रमण दलको सदस्यको टिकटको व्यवस्थापनको प्रयास भैरहेको छ । भ्रमण दलमा २१ जना सहभागी छन् । उनिहरु १३ दिनको भ्रमण कार्यक्रम लिएर अघिल्लो शनिबार चीन गएका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय