ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा छाड्न आदेश

काठमाडौ,२४ भदौ।ललिता निवास प्रकरणमा काठमाडौं जिल्ला अदालतले पक्राउ परेका भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ सहित १७ प्रतिवादीलाई धरौटीमा छाड्ने आदेश गरेको छ।
न्यायधीश भोलानाथ ढकालको एकल इजलासले १७ जनासँग धरौटी माग्ने र एक जनालाई साधारण तारेखमा छाड्ने आदेश गरेको छ।
सबै भन्दा बढी धरौटी भाटभटेनी सुपर मार्केटका सन्चालक गुरुङसँग मागिएको छ। गुरुङसंग २ करोड ४६ लाख रुपैयाँ धरौटी मागिएको छ।
यसैगरी शिवजी भट्टराईसँग ३ लाख ३० हजार, रुद्रकुमार श्रेष्ठसँग ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठसँग ७ लाख ५० हजार, कलाधर देउजासँग १५ लाख, घमनकुमार श्रेष्ठसँग ७ लाख ५० हजार, गोपाल कार्कीसँग ७ लाख ५० हजार, विनोदप्रसाद पौडेलसँग १५ लाख, योगराज पौडेलसँग ७ लाख ५० हजार, नारायणराज मिश्रसँग ७ लाख ५० हजार, अरुणकुमार श्रेष्ठसँग ७ लाख ५० हजार, ध्रुव अर्यालसँग ३ लाख ३० हजार, बाबुराजा महर्जनसँग एक लाख १० हजार, देवनारायण महर्जनसँग एक लाख १० हजार, सन्जय महर्जनसँग एक लाख १० हजारसँग धरौटी मागिएको छ।
तर,यसै प्रकरणमा पक्राउ परेका केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्न आदेश भएको छ।

