बाबुराम भन्छन् : सहीदको निर्जीव सालिकमा फूलमाला चढाएर निजी स्वार्थ पूर्ति गर्ने प्रवृत्ति झांगिन नपाओस्

काठमाडौ,२३भदौ।नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सहीदको निर्जीव सालिकमा फूलमाला चढाएर निजी स्वार्थ पूर्ति गर्ने प्रवृत्ति झांगिन नपाओस् भन्दै खबरदारी गरेका छन् ।

माओवादीले २०५२ फागुन १ देखि शुरु गरेको जनयुद्धमा सहादत प्राप्त गरेका गोरखाका शुरेश वाग्ले र भिमसेन पोखरेलको स्मृति दिवसका दिन उनले यसो भनेका हुन् । तात्कालिन अवस्थामा पार्टीको उच्च नेता मध्यका वाग्ले र कमान्डर पोखरेललाई २०५५ भदौ २३ गते गोरखामा प्रहरीले हत्या गरेको थियो।

वाग्ले र पोखरेलको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन आज प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुगेका छन् ।प्रचण्ड गोरखा पुग्नु अगाडी डा.भट्टराईको यो प्रतिक्रिया आएको हो।

डा.भट्टराईले आफ्नो सामाजिक संजालमा लेखेका छन्-‘ऐतिहासिक जनयुद्धका महान् सहीदहरू सुरेश वाग्ले ( वासु ) र भीमसेन पोखरेल ( वैरागी ) प्रति हार्दिक श्रद्धासुमन !’

जनयुद्धका मुख्य नेता रहेका डा.भट्टराईले अगाडी लेखेका छन्-‘ श्रद्धेय सहीदहरू, तपाईंहरूको असीम त्याग र वलिदानको जगमा प्राप्त उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर समुन्नत समाजवाद निर्माण गर्ने महान् अभियानमा निरन्तर अघि बढ्न हामी सबैलाई प्रेरणा मिलिरहोस्! सहीदको निर्जीव सालिकमा फूलमाला चढाएर निजी स्वार्थ पूर्ति गर्ने प्रवृत्ति झांगिन नपाओस्! तपाईंहरूको सादा जीवन र उच्च विचारले हामीलाई सदैव दिशानिर्देश गरिरहोस्!’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय