ढोरपाटनका मेयर नेपाली विरुद्ध ‘रेडकर्नर’ नोटिस

काठमाडौं,२४भदौ। बागलुङको ढोरपाटन नगरपालिका प्रमुख एवं एमाले नेता देवकुमार नेपाली विरुद्ध रेडकर्नर नोटिस जारी गर्ने तयारी भएको छ।
उनी अध्यक्ष रहेको सहकारीबाट झन्डै १ अर्ब ५६ करोड हाराहारी रुपैयाँ अपचलन गरी फरार रहेका  मेयर नेपाली विरुद्ध ‘रेडकर्नर’ नोटिस जारी गरी खोजी कार्य सुरु गर्न लागिएको प्रहरीले जनाएको छ ।

२०७४ मा माओवादी केन्द्रबाट र २०७९ मा नेकपा एमालेबाट मेयर निर्वाचित भएका नेपाली नेकपा एमालेको गण्डकी प्रदेश सदस्य समेत हुन् । यद्यपि उनको सहकारी काण्ड बाहिर आएपछि एमाले गण्डकीले निलम्बन गरिसकेको छ।

बागलुङ तथा पोखरामा कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको डेढ अर्बभन्दा बढि रकम हिनामिना गरी फरार रहेको भन्दै नेपालीको खोजी इन्टरपोलमार्फत थालिएको हो । उनी विरुद्ध बागलुङ र कास्कीमा बचतकर्ताले उजुरी समेत दिएका छन् ।

उनले सहकारीको डेढ अर्बभन्दा बढि अपचलन गरेको प्रारम्भिक छलफलबाट खुलेको छ । मेयर नेपाली र अन्य ११ जना सञ्चालकविरुद्ध बागलुङ जिल्ला अदालतमा मुद्दा दायर पनि भइसकेको छ ।

फरार रहेका मेयर नेपाली पक्राउ नपरेपछि जिल्ला प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालय इन्टरपोल महाशाखालाई रेडकर्नर नोटिसका लागि पत्र पठाएको थियो । उनी गत जेठ ५ गतेदेखि फरार छन् । उनको काठमाडौ,पोखरा र बागलुङको विभिन्न ठाउँमा घर जग्गा रहेकोे छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय