यसरी हुँदैछ सरकारमा रवि र राजेन्द्रको ‘रि-इन्ट्री’ !

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउने गृहकार्य थालेका छन् ।
बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले लिङ्देन र लामिछानेलाई सरकारमा सहभागी गराउन निरन्तर कुराकानी गरिरहेका छन् ।प्रधानमन्त्रीको प्रस्तावमा दुबै दल  सरकारमा सहभागी हुन सकारात्मक पनि देखिएका छन् ।

आफ्नो पार्टीको भागमा परेको संसदीय समितिको सभापति राप्रपालाई छुट्याएसँगै प्रधानमन्त्रीसंग राप्रपा नेताहरूको हिमचिम बढेको छ। बिषयगत समितिको सभापतिमा भाग नपाएपनी रास्वपालाई अबको संबैधानिक नियुक्तिमा मिलाउनेगरी सत्ता सहकार्यको गृहकार्य हुन थालेको छ । राप्रपालाई भने माओवादी केन्द्रको भागमा परेको पूर्वाधार विकास समितिको सभापति दिएर मिलाइएको थियो। सो समितिको सभापति राप्रपाका दिपक बहादुर सिंह चयन भएका छन् ।

यसैगरी उर्जामन्त्री शक्ति बहादुर बस्नेतलाई फिर्ता बोलाएर माओवादीले उर्जा मन्त्रालय राप्रपालाई दिने चर्चा छ। पुस १० को गठबन्धन बन्दा यो मन्त्रालय राप्रपाले नै पाएको थियो। त्यतिबेला राप्रपा अध्यक्ष लिङ्देन उपप्रधान सहित उर्जा मन्त्री बनेका थिए।

स्रोतका अनुसार राप्रपा र रास्वपालाई सत्तामा ल्याउदा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी भने सत्ता बाहिर पुग्न सक्ने छ। संघीय सरकारमा २ मन्त्रालय पाएको जसपालाई बाहिर राखेर राप्रपा र रास्वपालाई सरकारमा सहभागी गराउदा गठबन्धन थप बलियो हुने सत्ता गठबन्धनको बुझाइ छ। यसो हुँदा हालको गठबन्धनबाट कांग्रेसले पनि एक मन्त्रालय छाड्नुपर्ने हुन्छ।

अबको गठबन्धनमा राप्रपा र रास्वपालाई २/२ मन्त्रालय दिइने छ। जसमा माओवादीको भागमा परेको एक र कांग्रेसको भागमा परेको एक मन्त्रालय संगै जसपालाई आउट गरेपछिको २ मन्त्रालय ल्याएर भागबन्डा मिलाउन लागिएको स्रोतले बतायो।

तर,रास्वपा सभापति लामिछाने सरकारमा जान गृह नै चाहिने अडानमा हुँदा हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई फिर्ता बोलाउनुपर्ने हुन्छ। रास्वपाले गृह नपाउदा पनि सरकारमा सहभागी हुन अर्थ दिनुपर्ने अडान राख्न सक्छ। तर, अर्थमा स्वर्णिम वाग्ले हो भने कांग्रेस त्यो सर्त मान्ने पक्षमा देखिन्न ।

स्रोतले बताए अनुसार भागबन्डाको सामान्य गृहकार्य हेर्दा परराष्ट्रमन्त्री एनपी साउतलाई फिर्ता बोलाएर नारायण काजीलाई परराष्ट्र दिने र गृह रवि लामिछानेलाई दिने चर्चा पनि छ। त्यसो हुँदा उर्जामा राजेन्द्र लिङ्देन र गृहमा रवि लामिछानेको ‘रि-इन्ट्री’ हुने देखिन्छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय