ब्रेकिङ न्युज:जन्म चीन,बासिन्दा बेल्जियम नागरिकता नेपाली
सुन प्रकरणमा पक्राउ परेका छिरिङले निमा तामाङको नाममा नागरिकता लिएर ठमेलमा रेष्टुरेन्ट चलाउथे
काठमाडौ,१५भदौ। जन्म चीनको तिब्बत । तर,शरणार्थीको रुपमा बेल्जियमबाट त्यहीँको स्थायी बासिन्दा सरहको नागरिक । नेपालमा काभ्रे जिल्लाबाट नागरिकता लिएर नेपाली सरह ठमेलमा व्यसाय संचालन।
सुन प्रकरणमा पक्राउ परेका तिब्बतीयन मुलका बेल्जियम नागरिक दावा छिरिङको बास्तविकता हो यो। उनी ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ परेका हुन् । तर,उनको अपराध कर्म यतिमात्र होइन। उनी यसअघि पनि पटक-पटक अन्य आरोपमा पक्राउ पर्ने र नेपाली नागरिक भएको पुष्टि देखाएर उम्किने गरेका थिए।
प्रहरी हिरासतमा रहेका दावा छिरिङले नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिएको समेत पुष्टि भएपछि उनको अन्य अपराधको समेत भण्डाफोर हुँदै गएको छ । दावा छिरिङको साथमा ३०–०१–७४–११८६५ नम्बरको नेपाली नागरिकता फेला परेको छ ।तर, उनलाई सघाउनेहरुको भने अझै कहाँसम्मको पहुँच छ भन्ने जालो तोड्न सकिएको छैन।
तिब्बतीयन मुलका बेल्जियन नागरिक छिरिङले निमा तामाङको नाममा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको छानबिन समितिको भनाइ छ।नागरिकताबारे छानबिन गर्न गृह मन्त्रालयले उप–सचिव कृष्ण बहादुर कटुवालको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले दावाको नागरिकता छानबिन रिपोर्ट बुझाइसकेको छ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई छानबिन रिपोर्ट बुझाएको भनिए पनि त्यसको अन्य बिषयमा आधिकारिक जानकारी दिइएको छैन। अनुसन्धानबाट छिरिङ काठमाडौ महानगरपालिका–२ स्थित लाजिम्पाटमा बस्ने र ठमेलस्थित ‘होटल भियना’को सञ्चालक भएको पुष्टि भएको छ।
अहिलेसम्मको तथ्यले छिरिङले काभ्रेको नमोबुद्ध नगरपालिका–११ घर भएका पेमा तामाङलाई बुबा बनाएर नागरिकता लिएको भेटिएको छ । नागरिकता लिनका लागि वडा अध्यक्ष सरस्वती पण्डित कार्कीले सिफारिस गरेको कागजात भेटिएको छ । तर, अर्को आश्चर्य सरस्वती पण्डित कार्की नाम गरेको वडाअध्यक्ष नै काभ्रेमा भेटिएको छैन। वडा अध्यक्ष नै नक्कली देखियो।
२०७४ पुस २० मा उनले काभ्रेबाट यो नागरिकता लिएको देखिएको छ। अहिले उक्त नागरिकता खारेज गर्न सरकारले तयारी थालेको बुझिएको छ। दावाले लिएको नागरिकतामा हस्ताक्षर गर्ने अधिकृत र नासुसँग पनि समितिले बयान लिएको थियो । छानबिन समितिले नागरिकता वितरणमा संलग्न कर्मचारीहरुलाई कारबाही गर्न सिफारिस गरेको स्रोतको भनाइ छ ।
दावाको नागरिकता अनुसन्धान गर्दा अर्का एक जना चिनियाँ नागरिकले पनि यामाङ तामाङको नामबाट नागरिकता लिएको प्रमाण भेटिएको छ । तर,यसबारे समितिले केही बताएको छैन। यो सबै कुरा अहिले गोप्य नै छ।
अर्को आश्चर्यको कुरा ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ परेका ब्यक्ति मध्य ५ जना चिनियाँ नागरिकले नेपाली नागरिकता लिएको देखिएको छ । त्यस मध्य ४ जनाले काभ्रे जिल्लाबाट र एक जनाले काठमाडौबाट नागरिकता लिएको स्रोतको भनाइ छ।

