गगन थापा र रवि लामिछाने देश बेच्ने दलाल-विप्लव
एमसीसीको समर्थन गर्नेलाई लखेट्ने चेतावनी
काठमाडौं,१४भदौ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पैसा पाएभने देशै बेच्न सक्ने आरोप लगाएका छन् ।
पछिल्लो समय एमसीसी परियोजनाको बिषयमा कडा रुपमा प्रस्तुत भएका विप्लवले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई समेत लेण्डुप दोर्जेका सन्तान हुन् कि भन्ने शंका रहेको भनेका छन् ।
आफ्नै पुर्व कमान्डर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग समेत आक्रोशित भएका विप्लवले गगन थापा,रवि लामिछाने लगायतलाई चन्द्रशेखरको चेलाको पनि संज्ञा दिएका छन् ।’यी त असमान सन्धी, सम्झौतामा हस्ताक्षर गर्ने मान्छेहरु हुन्’ उनले भने-‘यिनीहरु देश बेच्ने, लेण्डुप दोर्जेका सन्तान हुन् । यिनीहरु पैसा पाए भने देश बेचेर खान तयार हुने मान्छे हुन् ।’
कम्युनिस्ट आन्दोलनलाई समाजवाद सम्म पुर्याउने लक्ष्य सहित गठन भएको समाजवादी मोर्चाबाट समेत असन्तुष्ट रहेका विप्लवले एमसीसी परियोजनाको नाममा आएको ५० अर्ब पैसाको दास बन्न नसक्ने समेत बताएका छन् ।एक टेलिभिजन अन्तरबार्तामा विप्लवले नेपाल युग युगसम्म स्वाधिन भएर जाने तर,५० अर्बमा दास नबन्ने उद्घोष पनि गरे।
उनले एमसीसी कार्यान्वयनको चरण सुरु गरिएको विषयमा पनि कडा प्रतिवाद गरे।’घोषणा गर्दैमा कार्यान्वयन हुँदैन’ उनले भने-‘हामी कुनैपनी अवस्थामा एमसीसीको नाममा देश बेच्ने दलाललाई लखेट्छौ।’
उनले एमसीसी नेपाललाई लुट्न खोलिएको कार्यक्रम भएको आरोप लगाउदै एमसीसीको पक्षमा लाग्ने गगन थापा र रवि लामिछाने मात्रै होइन अरु सबैलाई जनताले लखेट्नुपर्ने बेला आएको चेतावनी दिए।

