एमसीसीको कारण समाजवादी मोर्चा धरापमा !

भाडभैलो पछि धनगढीको कार्यक्रम नै स्थगित

काठमाडौ।सत्तामा रहेका र संसदमै नरहेका अर्ध कम्युनिस्ट दल मिलेर बनेको समाजवादी मोर्चा भित्र भाडभैलो शुरु भएको छ।

सत्तामा रहेका दुई कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र मधेसवादी दल जसपा तथा संसदमा नरहेको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा बिच समाजवादी मोर्चा गठन भएको हो।

गठन भएसङ्गै बिबाद देखिएको मोर्चामा अमेरिकी सहयोग एमसीसीको बिषयले झन बढी भाडभैलो मच्चिएको छ। विप्लव र झलनाथ खनाल एमसीसीको बिरोधमा छन् । प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,माधवकुमार नेपाल र उपेन्द्र यादव दोहोरो चरित्रमा छन् ।

मंगलबार मोर्चाले बुटवलमा गरेको सभामा पनि एमसीसी को बिषयमा नेताहरूको फरक-फरक अभिव्यक्ति आएको थियो। सभामा विप्लवले एमसीसीका विरुद्ध चर्को भाषण गर्नुको साथै आन्दोलन गर्ने चेतावनी समेत दिए। संयोग नै भनौ एमसीसी परियोजना हेर्ने उपाध्यक्ष हाल नेपाल भ्रमणमा छन् ।

सोही कारण आज धनगढीमा हुने भनिएको समाजवादी मोर्चाको सन्देश सभा अप्रत्याशित स्थगित भएको छ । सभाको लागि नेताकार्यकर्ता धनगढी पुगिसकेको अवस्थामा सभा स्थगित भएको हो।
माओवादी केन्द्रका नेता खगराज भट्टले कार्यक्रम स्थगित भएको पुष्टि गरे। सुदूरपश्चिम प्रदेशको कार्यक्रम स्थगित भएको तर, अर्को कार्यक्रम कहिले गर्ने भन्ने टुङ्गो लागि नसकेको नेता भट्टले बताए।

यसैगरी भदौ १५ मा पोखरामा हुने सभा समेत हुने वा  नहुने भन्ने शंकामा छ। माओवादी सचीव देवेन्द्र पौडेलले सभाको ब्यबस्थापनको जिम्मा माओवादीले पाएकोले पोखरामा सभा हुने भनेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय