नेवानिले अब भैरहवाबाट पनि दिल्ली र हङकङ उडान गर्ने

काठमाडौं, १० भदौ । नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि हङकङ तथा दिल्ली उडान गर्ने भएको छ। काठमाडौँलाई ट्रान्जिट बनाई यो उडान गर्न लागिएको हो।
निगमले १२ भदौ (२९ अगस्ट) देखि नियमित रूपमा उडान भर्ने गरी बुकिङ खुला गरेको छ।
सुरुमा भैरहवाबाट हप्ताको एक उडान मात्र हुनेछ। हरेक मंगलबार हुने यो उडान बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार बढाउँदै जाने निगमको योजना रहेको छ।
उडान तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ः०० बजे काठमाडौँमा अवतरण गर्नेछ।
तत्पश्चात् ट्रान्जिट भई हङकङ जाने यात्रु हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्नेछन्।


