माधव नेपालको गुनासो: ओलीले सर्वदलीय बैठकमा हामीलाई निषेध गरे

काठमाडौं, ९ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सर्वदलीय बैठकमा आफ्नो पार्टीलाई निषेध गरेको गुनासो गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित पार्टी निकट विद्यार्थी संगठनको स्थायी कमिटी बैठकमा बोल्दै उनले सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न बोलाइएको सर्वदलीय बैठकमा ओलीकै कारण आफ्नो पार्टीलाई सहभागी नगराइएको बताएका हुन्।

‘ओलीले यो पार्टीको मतलब नै नराख्ने। हुँदाहुँदा हिजोअस्ती त संसदमा अरु सबै पार्टी हुन्छ। तर, एकीकृत समाजवादी पार्टी हुँदैन भनेर हामीलाई प्रस्तुत हुन दिएनन। र, त्यो सुनकाण्डको बारेमा भएको छानबिन कमिटीमा अरु सबै बसे ६ वटा पार्टी। राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने एउटा आधारमा टेकेर हामीलाई बोलाउँदा पनि बोलाएनन्,’ नेपालले भने।

उनले थपे, ‘अब हामी पनि सोचिरहेका छौं कि हामीले पनि केही गर्नुपर्छ। धेरै भलादमी पारेर हुँदैन। त्यसो हुनाले यो घ्यू निकाल्नका लागि औंलो अलि बाङ्गै गर्नुपर्दो रहेछ। त्यो बाङगो नगरेर हुँदो रहेनछ। संसार नै त्यस्तै छ। यो सबै अवस्था हामीले देखिरहेका छौं।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय