कांग्रेसमा क्रियाशिल देखिने,तर भोट नदिने अपराधी हुन् -खड्का

काठमाडौ।नेपाली कांग्रेसका उपसभापति एवं नेपाल सरकारका रक्षामन्त्री पुर्णबहादुर खड्काले राजनीति दलका नेताले ‘जनतालाई मन नपर्ने कुरा म गर्दिन’ भन्ने संकल्प गर्नुपर्ने बेला आएको बताएका छन् ।
पार्टी सुधार र निर्माणका कुरा गर्ने, अभियानका कुरा गर्ने तर नेताले व्यबहार नसुधार्ने हो भने अब जनताले माफी नदिने पनि खड्काले बताए।’कांग्रेस नेताकार्यकर्ताबाट जनताले धेरै अपेक्षा गरेको छ, अब संकल्प सहित पार्टी अगाडी बढ्नुपर्छ’ उनले भने-‘साम्यवादी बिचार बोक्नेले समेत लोकतान्त्रिक र समाजवादी बन्न कसरत गरेको बेला लोकतान्त्रिक समाजवादको दृष्टिकोणबाट हामी पछि हट्न मिल्दैन।’

शनिबार नेपाली कांग्रेस काठमाडौ क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलन उद्घाटन गर्दै रक्षामन्त्री खड्काले सो कुरा बताएका हुन् ।पार्टी उपसभापति समेत रहेका खड्काले रुखलाइ भोट नदिने ब्यक्तिलाई अपराधीको संज्ञा दिए।  उनले भने-‘आफ्नो पार्टीको चुनाव चिन्हमा भोट नदिएर अर्कोलाई भोट दिनु अपराधकर्म हो तर,चुनाव जितेर पनि जनताको काममा ध्यान नदिनेलाई पनि अपराधी नै भन्नुपर्ने हुन्छ।’
उनले कांग्रेसबाट जितेका जनप्रतिनिधिले जनताको काम कति गरेका छन् र पार्टी कार्यकर्तालाई कसरी आश्वस्त पारेका छन् भन्ने कुराको मुल्यांकन समेत गरिने भन्दै जितेपछि पार्टी र जनता केही होइनन् भन्नेलाई आगामी दिनमा पार्टीले अवसर नदिने चेतावनी समेत दिए।
सरकारले भ्रस्टाचारको सन्दर्भमा चालेको कदममा अहिले नै शंका नगर्न पनि आग्रह गरे।’छानबिन गर्ने प्रक्रियामा प्रश्न र शंका उठ्नु स्वभाविक हो’-उनले भने-‘तर,अदालतले टुंगो नलगाएसम्म यो वा त्यो भनेर नकारात्मक भावना नराखौ।’
सरकारमा पनि पार्टीको तर्फबाट नेतृत्व गरेको र पार्टीको पनि जिम्मेवार पदाधिकारी भएकोले हरेक कुराको जवाफ दिन आफू जिम्मेवार रहेको भन्दै उनले कहिँ कतै खराबी भएको छ भने सच्याउन तयार रहेको समेत बताए।
पार्टीमा अन्तर्घात गर्नेको कुनै बिचार समूह वा गुट हुँदैन त्यहाँ अपराधी र घातगर्नेको समुह मात्रै हुन्छ भन्दै उनले पार्टीमा बसेर अन्तर्घात गर्ने र पार्टी हित बिपरित काम गर्नेलाई क्षमा दिन नसकिने पनि स्पष्ट पारे।
खड्काले पार्टी संचालन गर्दा निति र अनुशासनमा रहन केन्द्रको कुनै निर्देशन कुरिराख्न नपर्ने समेत बताए। पार्टी पुनर्निर्माण भनेको आफू सहि हुनु र अनुशाशित बन्नु हो भन्दै उनले आफू सहि हुनेले मात्रै अरुलाई आदर्शका कुरा गर्ने नैतिक क्षमता राख्ने पनि बताए।
कार्यक्रममा स्वागत गर्दै क्षेत्रीय सभापति एवं काठमाडौ-३का प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले लामो प्रजातान्त्रिक इतिहास बोकेको नेपाली कांग्रेस पार्टीलाई चुनौती दिन आउने फेसबुके पार्टीहरुको तुलना हुनै नसक्ने बताए।
उनले नेपाली कांग्रेस बिना अरुले देशलाई समृद्ध बनाउन नसक्नेमा समेत जोड दिए। जनताको समस्यामा ध्यान दिन नसक्ने हो भने पार्टी सरकारमा बसिरहनुको अर्थ नहुने पनि बताए।
नेपाली कांग्रेसका सह-महामन्त्री भिष्मराज आङ्दम्बेले पार्टी संगठनलाई चुस्त दुरुस्त गर्न आग्रह गर्दै पार्टी केन्द्रिय निर्देशन अनुसार पार्टीका सबै अंग संचालन गर्न आग्रह गरे।उनले पार्टी भित्र जिम्मेवारी दिने कुरामा असन्तुष्टी रहेको स्वीकार गर्दै केही साथीहरूले थपी थपी जिम्मेवारी पाउने र केहिले नपाउने कुराको अन्त्य हुने समेत बताए।
उनले सुनकाण्ड र ललिता निवासदेखि गिरिबन्धु टि स्टेटको कुरामा नाम जोडिएकालाई सरकारले छानी छानी जोगाउन खोजेको तर,कांग्रेसका नेतालाई नक्कली भुटानी शरणार्थी प्रकरण लगायत मुद्दामा लक्षित गरेर जेलमा कोच्ने गरिएकोमा आक्रोश ब्यक्त गरे।
काठमाडौ सभापति सबुज कृष्ण बानियाले पार्टी संगठनलाई अनुशासनमा राख्नुपर्ने अवस्था आएकोमा जोड दिए। पार्टीका हरेक नेताकार्यकर्ता इमानदार र अनुशाशीत हुनुपर्ने उनको भनाइ थियो। उनले भने-‘पार्टीमा केही रोग पनि लागेको छ त्यसको निराकरण गर्न आवस्यक छ।’
पार्टीका काठमाडौ सचीव गोविन्द हरी पुडासैनीले पार्टीको नेता हुने तर पार्टीको हित बिपरित काम गर्नेलाई नेतृत्वले संरक्षण गर्न नहुने बताए। उनले बिपी संग्रहालयबाट पार्टी हित बिपरितका कामहरू भैरहेको आरोप लगाउदै पार्टीलाई सहयोग नगर्ने तर एउटै ब्यक्ति हावी भैराख्ने कार्यको अन्त्य हुनुपर्नेमा जोड दिए।

पार्टी महाधिवेशन प्रतिनिधि एवं बागमती प्रदेश सदस्य गीता सिंखडाले पार्टीले जनताको आधारभुत कुरामा ध्यान दिन आवश्यक रहेको भन्दै जनताका सुख दु:खमा कांग्रेस नै हुनेछ भन्ने शन्देश दिनुपर्ने बताइन् ।
कामनपा वडा नम्बर-६ का वडा अध्यक्ष एवं नेपाली कांग्रेस क्षेत्रीय सचीव भुवन लामाले लोकतन्त्र र बिकासको नेतृत्व कांग्रेस बाहेक अरुले गर्न नसक्ने बताए। उनले पार्टीका नेताकार्यकर्ता बिचमा अनेकतामा एकता कायम रहेको बताए।
कार्यक्रममा वडा नम्बर-६ का इकाई सभापति विवेक लामाले राजनीतिक पार्टी प्रती युवा जमातमा बितृष्णा पैदा भएको र दलहरुलाई सामाजिक संजालमा गाली गर्ने लहर चलेकोमा दु:ख व्यक्त गरे।
पार्टी क्षेत्रीय सचीव एवं गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसालले धन्यवाद ज्ञापन र क्षेत्रीय सह-सचीव सुदिप पण्डितले संचालन गरेको कार्यक्रममा पार्टीका सबै वडा,नगर र प्रदेशका नेताकार्यकर्ताको उपस्थिति थियो।यसअघि क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेश (१) र (२) को प्रदेश सम्मेलन सम्पन्न भैसकेको छ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय