नारायणीमा बन्ने सिग्नेचर पुलको सर्वेक्षण सुरु

चितवन, ८ भदौ । चितवन र नवलपरासी जोड्ने नारायणगढस्थित नारायणी नदीमाथि बन्ने सिग्नेचर पुलको सर्भेको काम थालिएको छ । पुल महाशाखाको टोलीले भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिकाका प्रमुखसहितको टोलीसँग स्थलगत निरीक्षण गरी छलफल गरेको हो ।

भरतपुर महानगर प्रमुख रेनु दाहाल, गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी, पुल महाशाखाको टोली, सडक विभागका प्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधिसहितको संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको छ ।

पुल महाशाखाका उपनिर्देशक नरेशमान शाक्यका अनुसार सिग्नेचर पुल अहिले भएको पुलभन्दा उत्तरतर्फ बन्ने छ । उक्त पुल चार वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइने उनले जानकारी दिए ।

सिग्नेचर पुल निर्माणका लागि तुँही कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ भने अहिले पुल डिजाइनको काम भइरहेको कम्पनीले जनाएको छ । चार सय २० मिटर लामो उक्त पुल निर्माणका लागि रू एक अर्ब ६८ करोड ७६ लाख ठेक्का सम्झौता भएको छ । राष्ट्रिय राजमार्गलाई जोड्ने गरी नारायणी लिफ्टभन्दा उत्तरतर्फबाट गैँडाकोट जोड्ने अर्को पुलको टोलीले फिल्ड सर्भे पनि गरेको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विगत लामो समयदेखि पुल निर्माणका लागि महानगरपालिकाले पहल गरिरहेको बताउँदै अबको केही समयपछि यस कामले पूर्णता पाउनेमा विश्वस्त रहेको उललेख गरिन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय