बारामा तीर्थयात्री बाेकेकाे बस दुर्घटना हुँदा ७ जनाकाे ज्यान गयाे

बारा, ७ भदाै । बारामा भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाकाे ज्यान गएकाे छ । काठमाडौंबाट जनकपुर जाँदै गरेको प्रदेश २–०३–००१ ख ७९९४ नम्बरको बस बिहिबार राति बाराको जितपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा दुर्घटना भएकाे हाे ।
दुर्घटनामा परी मृत्यु भएकाहरूमा एकजना नेपाली पनि रहेको खुलेको छ। उनकाे सनाखत भने हुन बाँकी छ । प्रहरीका अनुसार जनकपुरबाट काठमाडौं पुगेकाे बस त्यहाँबाट फर्किएर जनकपुर नै आउँदै थियाे ।
बस मध्यराति करिब एक बजे दुर्घटनाग्रस्त भएकाे हाे । दुर्घटनामा परी अन्य १७ जना घाइते छन् । उनीहरूकाे हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि फरार रहेका चालक र सहचालकलाई प्रहरीले धनुषाबाट नियन्त्रणमा लिएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

