त्रिशुली बस दुर्घटनामा ज्यान गुमाएका मध्ये ६ जनाकाे सनाखत

काठमाडाैं, ७ भदाै । बुधबार विहान धादिङमा भएकाे बस दुर्घटनामा परी ज्यान गुमाउने ८ जनामध्ये ६ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सनाखत भएकाहरू जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका-३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका-१ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका- ८ का अन्दाजी २४/२५ वर्षका सविन रम्तेल र कास्की फूलबारीका अन्दाजी २४/२५ वर्षका सुमन थापा छन्।

त्यस्तै पर्वत जिल्ला जलजला गाउँपालिका-६ की ४२ वर्षीया राधिका सापकोटा र पर्वतको मोदी गाउँपालिका-५ का ४५ वर्षीय झपटबहादुर क्षेत्रीको मृत्यु भएको छ । बाँकी दुई मृतकको परिचय खुलाउने प्रयास भइरहेको छ ।

चालक र सहचालक गरी बसमा २५ जना सवार थिए । तीमध्ये बाग्लुङ गलकोटका ६८ वर्षीया बुढामगर सामान्य उपचार गरी डिस्चार्ज भएका छन् भने बसका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका-६ का ३४ वर्षीय रोशन तामाङलाई सकुशल उद्धार गरिएको छ। उनलाई अहिले इलाका प्रहरी कार्यालय गजुरीको हिरासतमा राखेर सोधपुछ भइरहेको एसपी गौतमले जानकारी दिए।

दुर्घटनामा १५ जना घाइते भएका छन् । उनीहरूलाई काठमाडौं ल्याई विभिन्न अस्पताल भर्ना गरिएको छ। एसपी गौतमका अनुसार नौ जनाको ट्रमा सेन्टर, चार जनाको वयोधा हस्पिटल, एक जनाको मेडिसिटी र एक जनाको बिएन्डबी अस्पालतमा उपचार भइरहेको छ। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ।

बुधबार विहान काठमाडाैंबाट म्याग्दी जाँदै गरेकाे बस धादिङकाे गजुरी बजार नजिकैबाट त्रिशुलीमा खसेकाे थियाे ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय