कोशी प्रदेश सरकार बर्खास्त हुनुपर्ने भन्दै एमाले अदालत पुग्यो

काठमाडौ।उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारने पाएको बिश्वासको मतमा चित्त नबुझेपछी नेकपा एमाले पुनः सर्वोच्च अदालत पुगेको छ।

पूर्वमुख्यमन्त्री एवं नेकपा (एमाले) कोशीका संसदीय दलका नेता हिक्मतकुमामर कार्कीले बुधबार वारेसमार्फत् सर्वोच्च अदालतमा यो मुद्दाको रिट दायर गरेका छन्। मुख्यमन्त्री उद्धव थापाले सभामुख र उपसभामुख नभएको अवस्थामा सभा संचालन गर्ने सभाध्यक्षको समेत मत जोडेर असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै कार्कीले उत्प्रेषणयुक्त परमादेश तथा जो चाहिने उपयुक्त आदेश गरिपाउँ भनी रिट दायर गरेका हुन्।

सोमबार प्रदेश सभा बैठकको अध्यक्षता गरेका सांसद इस्राइल मन्सुरीले पनि मतदान गरेर थापाले विश्वासको मत पाएका थिए। एमालेले त्यसलाई असंवैधानिक भन्दै आएको छ। कोशीमा सभामुखले राजिनामा दिएर मन्त्री भएपछि र उपसभामुख काठमाडौ आएपछि सभाको संचालन मन्सुरीले गरेका थिए।

कोशीमा ९३ जना सांसद मध्य बिश्वासको मतको लागि ४७ चाहिनेमा मन्सुरीको समेत जोडेर ४७ पुर्‍याइएको थियो। सोमबारको प्रदेश सभा बैठकमा नेकपा एमाले र राप्रपाका केही सांसद बैठकमा अनुपस्थित रहेका थिए। मुख्यमन्त्री थापाका पक्षमा ४७ जनाले मत दिएका थिए भने विपक्षमा ३० जना सांसदले मत दिएका थिए।

नेपाली काङ्ग्रेस संसदीय दलका नेता रहेका थापा गत साउन १६ मा मुख्यमन्त्री नियुक्त भएका थिए।यसभन्दा अगाडी पनि सभामुख बाबुराम गौतमसमेतको समर्थनको हस्ताक्षर गरेर थापा पहिलो पटक असार २१ मा मुख्यमन्त्री नियुक्त भएका थिए।

असार २२ मा एमाले सर्वोच्च गएपछि अदालतले थापाको नियुक्ति बदर गरेको थियो। पछि फेरि साउन १६ मा थापा पुनः मुख्यमन्त्री नियुक्त भएका थिए। अहिले कोशीमा सभामुख छैन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय