नम्रता श्रेष्ठलाई आउट गर्दै सारुकको ‘ह्यासट्याग माया’ म्युजिक भिडियो बन्दै

काठमाडौं।चलचित्रको सुटिङ चलिरहेकै समयमा गत असार २१ गते राति आत्महत्या गरेका अभिनेता सारुक ताम्राकारको अन्तिम फिल्म ‘ह्यासट्यागमाया’लाई अब म्युजिक भिडियोको रुपमा सार्वजनिक गरिने भएको छ ।
धेरै महँगो लगानीमा निर्माण भैरहेको यो चलचित्र सारुकको निधनपछि फिल्मकै रुपमा अगाडि बढ्ने अवस्था नभेकोले फिल्ममा समावेश उनको मात्र दृश्यांशलाई समेटेर भिडियो बनाउन लागिएको हो। यो भिडियोलाई आगामी साता सार्वजनिक गर्ने तयारी रहेको निर्माण पक्षको भनाइ छ ।
चलचित्रका प्रोडक्सन म्यानेजर अरुण रेग्मीले सारुकको मेहनत र अन्तिम कामलाई दर्शकमाझ ल्याएर श्रद्धाञ्जली व्यक्त गर्ने उद्देश्यले भिडियो ल्याउन लागिएको भनेका छन् । ‘ट्रिब्युट टु सारुक’ नाम दिइएको भिडियोमा सारुकसंगै अर्की एक नायिकाको दृश्यलाई समेटिने भएको छ ।
अर्को कुरा यसै चलचित्रकि मुख्य नायिका नम्रता श्रेष्ठलाई भने भिडियोमा देखाइने छैन । सारुकको मृत्यु पछि नम्रता बिबादित बनेकी छन् । सारुकको मृत्यु हुनु अगाडी अभिनेत्री नम्रता श्रेष्ठ र सारुक एकै घरमा बस्ने, सुटिङको समयमा उनीहरुको अन्तरङ्ग सम्बन्ध रहनु र मृत्युपछि नम्रता गुमनाम हुनुले उनलाई निर्माण पक्षले पनि दृश्यमा नराख्ने निर्णय गरेको बुझिएको छ।
काठमाडौ रातोपुल स्थित आफ्नै घरमा आत्महत्या गरेका सारुक चलचित्रको मुख्य पात्र भएको कारण उनको अनुपस्थितिमा फिल्म निर्माण हुन नसक्ने देखिएको छ।सरुकको मृत्यु हुनु अघि फिल्मको सुटिङको ४० प्रतिशत काम सकिएको थियो ।

