माइक्रोबस दुर्घटना हुँदा दुईजनाको ज्यान गयो, १३ घाइते

सल्यान, ५ भदौ । सल्यानमा माइक्रोबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको लु २ ख ५७३१ नम्बरको माइक्रोबस सोमबार साँझ सल्यानको कपुरकोट गाउँपालिका–३ आगरखोलामा दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका घर भएका कमारो कामी र दार्मा गाउँपालिका–२ सल्यानका ओमपथ खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी घाइते हुने १३ जनाको तुलसीपुरमै उपचार भइरहेको छ।

