डा.बाबुराम भट्टराईले सिआइबी प्रमुखलाई घरमै बोलाएर ४५ मिनेट बयान दिए

काठमाडौ,४ भदौ।बहुचर्चित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अनावश्यक रुपम नाम जोडिएपछि पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई घरमै बोलाएर बयान दिएका छन् ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री डा. भट्टराईको काठमाडौ टोखा स्थित घरमै पुगेर सीआईबी प्रमुख एवम् एआईजी किरण बज्राचार्यले बयान लिएकी हुन् । ललिता निवास प्रकरणबारे घटना विवरण जानकारी गराउन बाबुराम आफैंले सिआइबीमा सम्पर्क गरेका थिए। भट्टराईको नै अनुरोधमा सीआईबी प्रमुख बज्राचार्य टोखास्थित भट्टराई निवास पुगेर बयान लिएको बुझिएको छ।स्रोतका अनुसार डा.भट्टराईले करिब ४५ मिनेट बयान दिएका थिए।
डा.भट्टराईले आफू प्रधानमन्त्री भएका बेला ललिता निवासबारे तत्कालीन क्याबिनेटबाट भएका नीतिगत निर्णयको विवरण एआईजी बज्राचार्यलाई दिएका थिए।१८ असोज २०६९ को मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयमातहतको समरजंग कम्पनीका नाममा भएको जग्गा पशुपति टिकिन्छा गुठीका नाममा लग्न दिने निर्णय गरेको थियो।
यसैबीच डा.भट्टराई आफैंले पनि फेसबुक मार्फत ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई बयान दिएको पुष्टि गरेका छन्।भट्टराईले सोमबार बिहान सामाजिक सञ्जालमार्फत ललिता निवास प्रकरणमा आफ्नो नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे सीआईबीलाई बयान दिएकाे जानकारी गराएका हुन्।

‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रिपरषद्‌को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे सत्यतथ्यको जानकारी मेरो सुरुदेखिको सार्वजनिक प्रतिबद्धताबमोजिम केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु’, भट्टराईले लेखेका छन्, ‘यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानबिन्दु बनोस् भन्ने कामना गर्दछु।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय