मुस्ताङको कागबेनीमा बाढीले बगाएको डेढ करोड भेटियो

काठमाडौं। एक साता अघि आएको भीषण बाढीले खण्डहर बनाएको मुस्ताङको कागबेनी क्षेत्रमा डेढ करोडभन्दा बढी नगद भेटिएको छ।
कालीगण्डकी किनारमा भेटीएको यो रकम प्रभु र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको हो। गेग्रान खोतल्ने क्रममा सेना, प्रहरी र स्थानीयबासीसमेतको समूहले प्रभु बैंकको ५१ लाख ६२ हजार र इन्भेष्टमेण्ट बैंकको १ करोड ५ लाख भेटिएको हो।
बाढीले प्रभु बैंकको भवन पुरै बगाएको थियो। भग्नावशेष खोतल्ने क्रममा बैंकको लकर फेला परेको छ र लकरभित्र नगद भेटिएको छ। समयमै मुक्तिनाथ क्षेत्रमा रहेका आफन्तले ‘बाढी आउँदैछ भाग’ भनेर खबर गरेका कारण मानवीय क्षेती भने हुन पाएन।
बाढीले इन्भेष्टमेण्ट मेगा बैंकमा पनि क्षति पुर्याएको थियो। बाढीले थुपारेको गेग्रान पन्छाउने क्रममा सो बैंकको १ करोड ५ लाख फेला परेको इलाका प्रहरी कार्यालय कागबेनीले जनाएको छ। उक्त रकम दुवै बैंकले बुझेर लगिसकेका छन्।
अहिले तीनवटै सुरक्षा निकाय र स्थानीय संघसंस्था मिलेर भग्नावशेष पन्छाउने र गेग्रान सफा गर्ने काम गरिरहेका छन् भने जनजीवन सामान्य अवस्थामा फर्किसकेको छ। खानेपानी र विद्युत आपूर्तिसमेत नियमित भइसकेको छ।

