विद्युत प्राधिकरणको सञ्चित नाफा ३६ अर्ब ६७ करोड

काठमाडौ।नेपाल विद्युत् प्राधिकरणको सञ्चित नाफा ३६ अर्ब ६७ करोड पुगेको छ। प्राधिकरणले गत आर्थिक बर्षमा मात्रै १२ अर्ब ३३ करोड नाफा गरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सात वर्षअघिको कहाली लाग्दो लोडसेडिङको अवस्थाबाट अहिले बिजुली विदेश बेच्ने बिन्दुमा देश पुगेको पनि बताएका छन्।

प्राधिकरणको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक घिसिङले पहिले पहिले वर्षातको समयमा पनि ६ देखि ८ घण्टाको लोडसेडिङ नेपाली जनताले भोग्नुपरेको पनि स्मरण गराए।‘हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ प्रक्षेपण गर्नुपर्ने अवस्थाबाट गुज्रिरहेको अवस्थामा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारको स्पष्ट निर्देशन र बलियो साथ पाएको विद्युत प्राधिकरणले २०७३ कात्तिकबाट राजधानी काठमाडौं उपत्यकासहित प्रमुख सहरबाट लोडसेडिङ अन्त्यको सुरुवात गरेको थियो’ सो समारोहमा उनले भने।

उनले अगाडी थपे-‘औद्योगिक क्षेत्रको पनि लोडसेडिङ अन्त्य गरी २०७५ वैशाखबाट देशलाई पूर्ण रुपमा लोडसेडिङ मुक्त गरिएको छ।’सरकारले प्राधिकरणको आर्थिक वर्ष २०६७/६८ सम्मको २७ अर्ब १९ करोड रुपैयाँ संचित घाटालाई अपलेखन गरिदिएपछि पनि घाटामा जाने क्रम नरोकिएको उनले बताए।

‘घाटा अपलेखन गरिएको पाँचौ वर्ष अर्थात आर्थिक वर्ष २०७२/७३ सम्म आइपुग्दा वार्षिक घाटा ८ अर्ब ९० करोड र  संचित नोक्सानी फेरि बढेर ३४ अर्ब ६१ करोड रुपैयाँ पुगेको थियो’, उनले भनेका छन्, ‘आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा आर्जन गरेर नाफाको गौरवमय इतिहास सुरु गरेको प्राधिकरण त्यसपछिका आर्थिक वर्षहरुमा निरन्तर नाफामा छ। गत आर्थिक वर्षसम्म आइपुग्दा वार्षिक १२ अर्ब ३३ करोड रुपैर्या नाफा आर्जन गरी सञ्चित नाफा ३६ अर्ब ६७ करोड पुगेको छ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय