हिरासत मुक्त भएपछि सुनिल शर्मा भन्छन्-केपी ओली ‘राष्ट्रनायक’ गृहमन्त्री ‘आतंककारी’

काठमाडौ। नक्कली सर्टीफिकेट प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सिआइबीको हिरासतबाट मुक्त भएसंगै प्रचण्ड नेतृत्वको सरकार ढल्ने चेतावनी दिएका छन् ।
मोरङ-३ बाट प्रतिनिधि सभामा निर्वाचित शर्माले आइएससीको सर्टीफिकेट नक्कली प्रयोग गरि चीनबाट एमबीबीएस गरेको भन्दै सिआइबीले अनुसन्धानको लागि हिरासतमा लिएको थियो।तर,शुक्रबार काठमाडौ जिल्ला अदालतको आदेशमा उनी रिहा भएका हुन् ।
रिहाईपछि सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले एमाले अध्यक्ष ओलीले आफ्नो पिताजीको जस्तै भूमिका निर्वाह गरेको भन्दै ओली ‘राष्ट्रनायक’ भएको बताए। तर,गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भने उनले माओवादी आतंककारी भन्दै एक मिनेट पनि सरकारमा बस्न नमिल्ने बताए। साथै नेपाली कांग्रेसले माओवादीसंगको सत्ता सहकार्य पनि छाड्नुपर्ने उनको भनाइ थियो।
साथै, उनले भिडिओमा केपी ओलीले दिएको हौसला देखेर आफ्नो मन रोएको पनि बताएका छन्। ‘मेरो पिताजीको जस्तै भूमिका निर्वाह गरिदिनु भएको राष्ट्र नायकका रुपमा उहाँले आफूलाई उभ्याउनु भएको छ केपी शर्मा ओली, उहाँका केही गुणहरु राम्रा छन् मैले पहिले पनि भनेको थिए उहाँ र उहाँको पाटीलाई धन्यवाद दिन चाहन्छु र म उहाँलाई भेट्छु पनि,’ उनले भने।
देश बचाउने अभियानमा फरक पार्टीमा रहेर पनि लागिरहेको उनले बताए।‘उहाँले हामी जो देश बचाउने अभियानमा फरक पार्टीमा रहेर पनि लागिरहेका छौं यसरी नै बचाउँदै जानुपर्छ राष्ट्र नायकहरुले। उहाँले प्रदान गर्नुभएको हौसला धेरैपछि मैले भिडिओमा देखेँ मेरो मन रोयो,’ सांसद शर्माले भने।
उनले हिरासतबाट रिहा हुँदै गर्दा आफ्नै पार्टी सभापति शेरबहादुर देउवाको नामै उच्चारण गर्न मानेनन् ।तर, शेखर कोइराला र गगन थापाको भने नाम लिएर धन्यवाद दिए। पार्टी भित्र उनी शेखर समुहका मानिन्छन् ।

