राष्ट्रिय परिक्षा बोर्ड भन्छ:’सुनिल शर्माको रोल नं १०११७७ अपुष्ट’

काठमाडौ। शैक्षिक प्रमाणपत्र नक्कली  भएको आरोपमा पक्राउ परेका मोरङ-३ बाट निर्वाचित  नेपाली कांग्रेसका सांसद सुनिल शर्माले आइएससी उतिर्ण गरेको प्रमाण राष्ट्रिय परिक्षा बोर्डमा नभएको खुलेको छ।
उनले भारतको बिहारबाट नक्कली प्रमाणपत्र किनेर त्यसैको आधारमा चीनको विश्वविद्यालयमा एमबीबीएस गर्न गएको समेत तथ्य बाहिर आएको छ। शर्माले नक्कली प्रमाण पत्र पेश गरेर नेपाल मेडिकल काउन्सिलको प्रमाण पत्र लिएको खुलेपछि मेडिकल काउन्सिल आफैंले सीआईबीमा अनुसन्धान गरी कारबाही गर्न निवेदन दिएको समेत बुझिएको छ।
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले पनि २०७९ साउन ५ गते सीआईबीलाई पत्र पठाउँदै सन् १९९६ मा रोल कोड ६५०४, रोल नम्बर १०११७७ भनिएको  आईएससी तहको सुनिलकुमार शर्माको कैफियतमा अपुष्टि भनि जवाफ दिएको समेत तथ्य बाहिर आएको छ।
तत्कालीन अवस्थामा शर्माले उक्त प्रमाण पत्र लिएको आधिकारीकता नदेखिएपछि उनले नक्कली प्रमाण पत्र लिएको र त्यसैलाई देखाएर एमबीबीएस पढेको भन्ने कुरामा बल पुगेको छ। उनको त्यही नक्कली भनिएको प्रमाण पत्र मेडिकल काउन्सिलमा समेत बुझाएको र काउन्सिल आफैंले शंकास्पद ठानेपछि शर्मा पनि छानविनको दायरामा तानिएका हुन्।
पछिल्लो समय सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको आलोचना गरेका कारण शर्मालाई बदला लिन पक्राउ गरिएको भन्ने प्रचार भैरहदा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सांसद सुनिलकुमार शर्मासहित पाँचजना पक्राउ परेको र यसमा नक्कली शैक्षिक प्रमाणपत्रको बिषय बाहेक अरु कुरामा पक्राउ नगरिएको जानकारी दिइन्।
उनका अनुसार पक्राउ पर्नेमा डा.रामबाबु यादव, डा. रञ्जित यादव, डा.एलिना साह र डा.अमित चौधरी रहेका छन्।सिआइबीले आज शुक्रबार यस विषयमा पत्रकार सम्मेलन नै गरेर उनीहरुलाई सार्वजनिक गर्ने  तयारी समेत गरेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय