‘ब्रा’भित्र २८ तोला सुन लुकाएर काठमाडौदेखि पोखरा यात्रा

काठमाडौ।एक महिलाले आफुले लगाएको ‘ब्रा’ भित्र २८ तोला सुन लुकाएर काठमाडौदेखि पोखरासम्मको यात्रा गरेकी छिन् । बिहिवार बिहानै सुनसहित ती महिला पोखरा बसपार्कमा पक्राउ परेकी छन्।

झापाको बिर्तामोड नगरपालिका घर भै हाल काठमाडौ गोकर्णेश्वर नगरपालिका जोरपाटी बस्दै आएकी उनलाई प्रहरीले सुराकीको आधारमा बिहिवार बिहान साढे ७ बजे पोखरा बसपार्कबाट सुनसहित पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बैदामका अनुसार पक्राउ पर्नेमा ४५ वर्षीया कल्पना गुरूङ रहेको र उनको साथमा अरु को-को थिए वा थिएनन् भन्ने खुलेको छैन। गुरुङ काठमाडौंबाट ग १ ख ९९४४ नम्बरको बसमा पोखरा गएकी थिइन्। विशेष सूचना पाएको प्रहरीले बसबाट ओर्लिएपछि गुरूङमाथि चेक गर्ने क्रममा सुन बरामद भएको हो।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालयबाट डिएसपी सहितको कमान्डमा टोली खटिएको थियो। गुरूङले छातीमा सेतो टेपले बेरेर ब्राभित्र सुन लुकाएर राखेकी थिइन्। २८० ग्राम २८ मिलिग्रामको सुन रहेको प्रहरीले जनाएको छ। उनीमाथि वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान अघि बढाएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय