माओवादी बैठकमा प्रचण्डसंग जनार्दनको भनाभन !

काठमाडौ। सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रिय समिति बैठकमा उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कडा आलोचना गरेका छन् ।
बैठकको तेस्रो दिन बोलेका उपमहासचिव प्रभाकरले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डलाई सधैं सहयोग गर्दै आएको तर,जनार्दनले असहयोग गर्‍यो भन्ने हल्ला चलाइएको भन्दै प्रतिवाद समेत गरे।’मैले कुन दिन कुन समयमा अध्यक्षलाई सहयोग गरिन ?’ बैठकमै जनार्दनले भने-‘मैले अध्यक्षलाई असहयोग गरेको भन्ने कुरा कसरी आयो ? यसको जवाफ यहीँबाट दिनुपर्छ ।’
पार्टीमा रुकुमका प्रभावशाली नेता जनार्दन र रोल्पाका प्रभावशाली नेता बर्षमान पुन ‘अनन्त’ बिच शक्तिको लडाइँ भैरहदा अध्यक्ष प्रचण्डले शर्मालाई भन्दा पुनलाई नजिक ठानेको भन्दै पार्टीमा शर्मा असन्तुष्ट थिए। यसअघि पदाधिकारी चयन गर्दा शर्मा महासचिव बन्न चाहन्थे तर अध्यक्ष प्रचण्डले शर्मालाई रोक्न पुनलाई अगाडी सारेपछी अन्ततः देव गुरुङ महासचिव बनेका थिए।
माओवादी पार्टी भित्र अहिले मुख्य गुट अध्यक्ष प्रचण्ड र बरिस्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको देखिए पनि शर्मा र पुनको गुट पनि शक्तिशाली छ। यो बाहेक माओवादीमा कृष्ण बहादुर महरा,शक्ति बस्नेत,मातृका यादव,देवेन्द्र पौडेल,अग्नि सापकोटा,राम कार्की,हितमान शाक्यका आ-आफ्ना गुट र उपगुट छन् ।
यहि बैठकले डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र नेकपा महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’लाई समेत पार्टी एकतामा ल्याउने निर्णय समेत गर्ने बुझिएको छ। यदि यो एकता संभव भएमा माओवादी भित्र अझै धेरै गुट उपगुट बढ्ने अनुमान गरिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय