ओखलढुंगाका दुबै प्रदेश सांसद मन्त्री !

काठमाडौ। कोशी प्रदेश सरकारको अस्थिर राजनीति र मध्यावधि चुनावको संकट टार्ने उपायको खोजिमा ‘सन्जिवनी बुटी’ बनेका बाबुराम गौतम सभामुख छाडेर मन्त्री भएपछि ओखलढुंगाले भने दुबै हातमा लड्ड पाएको छ।
कोशी प्रदेश सरकार गठनमा सत्ता गठबन्धन र विपक्षी एमाले-राप्रपा बिच बराबर सांसद संख्या भएपछि सभामुख गौतमले राजिनामा दिएर सत्ता गठबन्धनलाई बहुमत पुर्याउन सहयोग गरेका थिए। उनी ओखलढुंगा प्रदेश सभा (२) बाट निर्वाचित सांसद हुन् ।
त्यसैगरी ओखलढुंगा प्रदेश सभा(१) बाट निर्वाचित सांसद प्रदिपकुमार सुनुवार पनि मन्त्री बनेका छन् । एउटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको यो जिल्लाबाट कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने कांग्रेस सांसद सुनुवार खानेपानी सिचाई तथा उर्जा मन्त्री र माओवादी सांसद बाबुराम गौतम आर्थिक मामिला तथा योजना मन्त्री बनेका हुन् ।
संघीय सांसद कांग्रेस नेता रामहरि खतिवडा पनि संघीय मन्त्री बन्ने चर्चा चलेर पनि मन्त्री भएनन् । उनी प्रचण्ड नेतृत्वको सरकारमा नभएपनि शेरबहादुर देउवा नेतृत्वको सरकार बन्दा मन्त्री हुने संभावना रहेको छ।

