इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तान ए ले जित्यो

काठमाडौं, ८ साउन । श्रीलंकामा सम्पन्‍न एसिसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तानको ए टोलीले जितेको छ । आइतबार भएको फाइनलमा पाकिस्तान ए ले भारत ए लाई १२८ रनले हराएको हो ।

पाकिस्तानले दिएको ३५३ रनको विशाल लक्ष्य पछ्याएको भारत ४० ओभरमा २२४ रनमा अलआउट भयो । ओपनर अभिषेक शर्माले सर्वाधिक ६१ रनको योगदान दिए । कप्तान यश धुलले ३९ रन बनाए ।

पाकिस्तानका सुफिया मुकीमले १० ओभरमा ६६ रन दिएर ३ विकेट लिए । मेहरान मुम्ताजले ८ ओभरमा ३० रन दिएर २ विकेट लिँदा मोहम्मद वासिम जुनियरले ६ ओभरमा २६ रन दिएर २ विकेट, अरशाद इकबालले ७ ओभरमा ३४ रन दिएर २ विकेट लिए । मुबासिर खानले १ विकेट लिए ।

त्यसअघि टस हारेर  पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तान ए ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३५२ रन बनाएको थियो । तय्याब ताहिरले १०८ रनको शतकीय पारी खेले । शाहिबजादा फरानले ६५ तथा सेम आयबले ५९ रन बनाए । भारतका राजवर्धन हङ्गरजेकर र रियान परागले २-२ विकेट लिए भने हर्षित राना, मानव सुथर र निशान्त सिन्धुले १-१ विकेट लिए ।

पाकिस्तानले लगातार दोस्रोपटक इमर्जिङ एसिया कपको उपाधि जितेको हो । यसअघि २०१९ मा भएको फाइनलमा बङ्गलादेशलाई हराउँदै पाकिस्तानले उपाधि जितेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय