कमेडी क्लब विथ च्याम्पियन्स बन्द !

काठमाडौं, २ साउन । नेपाल टेलिभिजनबाट प्रसारण भैरहेको कमेडी रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’को प्रसारण बन्द भएको छ ।
कार्यक्रमका संचालक विशाल भण्डारीका अनुसार शो पूर्णरुपमा बन्द नभई केही समय विश्राम लिन लागिएको हो । यद्यपि ६९ भाग प्रशारण भएपछि यो शो बन्द हुने भएको हो ।
कार्यक्रमको निर्माण थ्री प्रोडक्शनले विज्ञापन एजेन्सी कि एड्भरटाइजिङसँग असार मसान्तसम्मको लागि मात्र सम्झौता गरेको थियो । उक्त सम्झौता सकिएपछि कार्यक्रम बन्द भएको हो ।
संचालक विशाल भण्डारीले चाडै नै ‘कमेडी च्याम्पियन ३’ लिएर दर्शकमाझ आउने प्रतिबद्धता जाहेर गरेका छन् । उनले केही समय विश्राम लिएको बताएका छन् ।
कमेडी च्याम्पियन सिजन २ का उपविजेता विक्की अग्रवालले निर्देशन गर्दै आएको यो शोले दर्शकहरुलाई हसाँउने प्रयास गरेको थियो । कहिलेकाँही कलाकारहरुको प्रस्तुति र विषयवस्तुले विवाद पनि निम्त्याएको थियो ।
यो शो नेपाली फिल्मको प्रमोशन गर्ने राम्रो थलो समेत बन्दे आएको थियो । पछिल्लो पटक चलचित्र ‘बगान’ को टिम शो मा पुगेको थियो ।

