भोलिदेखि बढी पानी पर्ने सम्भावना

रासस

काठमाडौं, ३१ असार । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा मानसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार तुलनात्मकरूपमा भोलि सोमबार र मङ्गलबार बढी मनसुनी वर्षा हुनेछ । पछिल्ला दिनमा निरन्तर वर्षा भइरहे पनि शनिबारदेखि केही मात्रामा कम वर्षा भएको छ । आइतबार राति पनि भारी वर्षाको सम्भावना छैन ।

‘मनसुन आजलाई सामान्य छ । शनिबार र आइतबारको तुलनामा सोमबार र मङ्गलबार बढी वर्षा हुने सम्भावना छ । आजका लागि विगतको तुलनामा कमै वर्षा हुने अनुमान गरिएको छ’, उनले भने । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा तल रहँदा नेपालमा कम वर्षा हुने सम्भावना रहेको मौसमविद् अधिकारीले बताए ।

सङ्घीय राजधानी काठमाडौँमा शनिबार राति हल्का वर्षा भएको छ । आज दिउँसो मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी पोखरामा एक सय ५५ मिलीमिटर वर्षा मापन गरिएको छ । लुम्लेमा एक सय ३४ मिलीमिटर वर्षा भएको छ । त्यसैगरी ओखलढुङ्गामा ७२, जिरीमा ४२, भैरहवामा ३७, धनगढीमा ३२ र काठमाडौँमा ३४ मिलीमिटर वर्षा मापन गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय