अपर मुस्ताङको लोमान्थाङकी ‘मुस्ताङ्गे नानी’

पोखरा, २९ असार । किमी छ्योक्योङ गुरुङले निर्माण गरेको तामाङ सेलोमा आधारित मुस्ताङ्गे नानी नामक म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ । गण्डकी प्रदेशका पूर्व सांसद एवं मुस्ताङका बासिन्दा ईन्द्र धारा बिष्टको शब्द तथा संगीत रहेकोे गीत एसटु प्रोडक्सन प्रालिले प्रस्तुत गरेको हो ।
प्रालिले एक दशक भन्दा लामो समयदेखि म्युजिक भिडियो, कमर्सियल एड र रियालिटी सो सम्बन्धी काम गर्दै आएको छ । प्रालिकै प्रस्तुती रहेको यो गीत विश्व दोङले गाएका हुन् । गीतमा वरिष्ठ नृत्य निर्देशक शुवास राई र रिक्साङ गुरुङको आकर्षक अभिनय रहेको छ ।
लोमान्थाङ गाउँपालिका वडा नम्बर ५ लोमान्थाङका बासिन्दा बिष्टले यो गीत दुई बर्ष अघि लेखे पनि अहिले आएर श्रव्यदृष्यमा समेटिएको हो । गीतमा मुस्ताङका चराङ, घरगुम्बा, लुरी, घारा, यारा, सुर्खाङ, ढि र धे खोला क्षेत्रका आकर्षक दृष्यहरु समेटिएको छ । यो गीत खासगरी मुस्ताङ र समग्र नेपालको पर्यटनमा टेवा दिने गरी तयार गरिएको बिष्टले बताए ।
यसअघि लोमान्थाङमै बसम र हिमाल पारी लोमान्थाङ गाउँ गरी दुई गीत बजारमा ल्याइसकेका बिष्टको यो तेश्रो गीत हो । आमा तिम्रो बोल भएको चौंथो गीत पनि आफूले लेखिसकेको उनले सुनाए ।गीतको अरेन्जरमा विष्णु तामाङ, प्रोडुसरमा किमी गुरुङ, सिनेमाटोग्राफीमा सुरज श्रेष्ठ र गणेश सापकोटा रहेका छन् ।
गीतको निर्देशन र सम्पादन भने सुरज श्रेष्ठले नै गरेका हुन् । मञ्जु श्रेष्ठको मेकअप रहेको गीतको कोरियोग्राफर भने एमडी सुुवास गुरु हुन् ।

