कांग्रेसको केन्द्रिय समिति बैठक आजदेखि
एक वर्ष पछि बल्ल बस्दै
काठमाडौं, २७ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुँदै छ । एक वर्ष पछि हुन लागेको बैठक दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय सानेपा स्थित वीपी प्रतिष्ठान भवनमा बस्ने छ ।
बैठकको लागि अघिल्लो साता देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले एजेन्डा तय गरेको थियो । बैठकमा एक वर्ष भित्र भएका निर्णयहरु अनुमोदन गराउनेदेखि भातृ सङ्गठन सम्बन्धी गरेको निर्णय र विस्तारका बारेमा पुर्नविचार गरिने भएको छ ।
यसैगरी, महाधिवेशन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा पनि बैठकमा छलफल हुने स्रोतले जनाएको छ । जसअनुसार नीति महाधिवेशनको मिति र स्थान तय गरिने छ ।
साथै, सङ्गठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल हुने छ । नेपाल विद्यार्थी संघ लगायत भ्रातृसंगठनलाई पुर्णता दिन सभापतिलाई जिम्मा दिने समेत बुझिएको छ।

