सदनमा प्रचण्ड : ‘प्रधानमन्त्री भएर होइन, भावनामा बगेर बोलेको हो !’

काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले षड्यन्त्र गरेर वा देश हित विपरित कुनै कुरा नबोलेको तर कहिलेकाँही भावनामा बगेर अनावश्यक बोल्ने गरेको स्वीकार गरेका छन् । उनले छोरी बिरामी हुँदा ११ बर्ष अगाडिको कुरालाई अहिले जोड्न नमिल्ने भन्दै कमजोरी सहितको प्रचण्ड स्वीकार गर्न समेत आग्रह गरे।
सोमबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरदार प्रीतम सिंहको पुस्तक बिमोचनमा बोलेको कुरामा सदन अवरुद्ध हुनु दु:खद भएको पनि जिकिर गरे। उनले आफ्नो सबल पक्ष भनेपनि वा कमजोरी पक्ष भनेपनी आफू अलि बढी भावनात्मक हुने गरेको बताए।’म कहिलेकाही उत्तेजना र भावनामा बहकिन्छु,अब यो उमेरमा स्वभाव बदल्न पनि नसक्ने रहेछु’ उनले भने-‘मेरो भावुकताले काम गर्दोरहेनछ। म यस्तै भए अब आत्म समिक्षा गर्न चाहन्छु र प्रतिपक्षलाई धन्यवाद पनि दिन्छु।’
प्रधानमन्त्री प्रचण्डले सरदार प्रीतम सिंह कुनै शक्ति केन्द्र पनि नभएको र प्रधानमन्त्री बनाउने सामर्थ्य पनि उनिमा नभएको भन्दै सबै कुरा थाहा हुँदाहुँदै पनि प्रतिपक्षी दलले यसरी कटाक्ष नगरेको भए हुने भने।
‘मलाई प्रधानमन्त्री बन्न यहि सदनको ९९ प्रतिशतको समर्थन थियो होइन र ?’ उनले भने-‘मलाइ प्रधानमन्त्री कसले बनायो ?भन्ने प्रश्न कसरी आयो ? यो असाधारण अवस्थाबाट आएको कुरा सबैलाई थाहा छ। फेरि राष्ट्रपतिलाई आफैंले लेखेको पत्रमा यति मजाक किन गरियो ?’

