धौलीगङ्गाको बाँध खुल्दै, महाकाली आसपासमा सतर्कता अपनाउन आग्रह

दार्चुला, २५ असार । भारतको धौलीगङ्गा जलविद्युत् परियोजनाकाे बाँधका ढोका खोल्न लागिएकाले महाकाली नदी किनारमा बसोबास गर्नेहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाकाे बाँधका ढोका भोलि बिहान ५ बजेदेखि राति ८ बजेसम्म १५ घण्टाको लागि खोल्न लागिएको छ । यो परियोजनाकाे बाँधका ढोका खोल्दा महाकाली नदीमा बाढी आउँछ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना निकालेर महाकाली नदी किनारमा बसोबास गर्नेलाई सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न तथा नदी छेउछाउ नजान आग्रह गरेको हो ।
दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाइराख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो ।
भारतले सफाइको कामका लागि भन्दै परियोजनाकाे बाँधका ढोका खोल्न लागेको जानकारी पठाएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध बर्खाका बेला हरेक वर्ष खोल्ने गरेको छ ।

