शेखर कोइराला वरिष्ठ नेता बन्दै सभापति हुने कसरतमा !
गगनसँग दुरी बढ्दै, देउवासँग घट्दै
काठमाडौं, २२ असार । नेपाली काँग्रेसको असार २७ मा बस्ने केन्द्रिय समिति बैठकपछि नेता शेखर कोइराला पार्टी संस्थापन पक्षसंग झन् नजिक हुने र त्यसको बदलामा पार्टी ‘वरिष्ठ नेता’ बन्ने भएका छन् ।
पार्टी विधानमै नभएको वरिष्ठ नेता बन्न भने निति महाधिवेशन बोलाउनुपर्छ । यसअघिका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि त्यो पदमा कोइरालाको नजर परेको र त्यसको लागि पार्टी संस्थापनसंग सम्बन्ध सुधारको अवस्थामा शेखर पुगेको कतिपयको बुझाइ छ । यद्यपि संस्थापन पक्षका नेताहरू भने कोइरालालाई वरिष्ठ नेता मान्न तयार छैनन् । पार्टी उपसभापति पुर्णबहादुर खड्का सहित नेताहरू गोपालमान श्रेष्ठ,ज्ञानेन्द्रबहादुर कार्की,डा.प्रकाशशरण महत,मोहनबहादुर बस्नेतहरु शेखरलाई अगाडी आउन नदिने पक्षमा छन् ।
हाल नेपाली कांग्रेसको २०औं वरीयतामा रहेका नेता कोइरालालाई पार्टीको वरिष्ठ नेता बनाउन सभापति शेरबहादुर देउवा समेत सकारात्मक छन् । पार्टी बरिस्ठ नेता बनेपछि संस्थापन पक्ष र संस्थापन इतर पक्षको बिश्वास जितेर आगामी १५ औं महाधिवेशनमा पार्टी सभापति नै बन्ने कोइरालाको योजना छ।
वर्तमान सभापति देउवा र महामन्त्री गगन थापालाई खुशी बनाएर कोइरालाले १५ औं महाधिवेशनमा आफू सभापति पक्का गर्न लागेको भन्दै केही नेता भने झस्किएका छन् ।
२०७८ मंसिरमा सम्पन्न १४ औ महाधिवेशनमा देउवासंगै सभापतिमा प्रतिस्पर्धा गरेका कोइराला आफ्नै परिवारका भाइ बहिनी (डा.शशांक कोइराला र सुजाता कोइराला) अनि गुटका साथीहरूको समेत मत नपाएपछि पराजित भएका थिए। उनकै टिमबाट गगन थापा महामन्त्रीमा निर्वाचित हुँदा कोइराला भने पराजित भए। कोइराला पराजित हुनुमा प्रकाशमान सिंह र बिमलेन्द्र निधिले अन्तिम समयमा दिएको धोका पनि मुख्य कारण थियो। पहिले सभापतिमै प्रतिस्पर्धा गरेका सिंह र निधि दोस्रो चरणमा देउवाको पक्षमा उभिएका थिए।
१४ औं महाधिवेशनमा पाएको धोकालाई पनि ब्यबस्थापन गर्दै कोइराला अब पार्टीको वरिष्ठ नेताहुँदै १५ औं महाधिवेशनमा सभापति बन्ने योजनामा छन् । यद्यपि कांग्रेसको बिधानमा बरिस्ठ नेताको ब्यबस्था छैन। तर,जानकारहरु भन्छन् यसलाई नीति अधिवेशनले टुंगो लगाउन मिल्छ।
पछिल्लो समय शेखर-गगन समुहको नाममा कांग्रेसको एउटा समूहले देशब्यापी ‘रुपान्तरण अभियान’ शुरु गरेको छ। तर,कोइराला त्यो अभियानमा देखिएका छैनन् । जसको कारण आफ्नै टिमबाट महामन्त्री जितेका गगनसंग पनि कोइराला टाढा छन् । गगनको महत्वाकांक्षी योजना र पार्टी नेतृत्व प्रतिको भद्दा टिप्पणी शेखरलाई मन परेको छैन । गगनसंग भन्दा सभापति देउवासँग नै कोइराला नजिकिएको पार्टीमा चर्चा छ।
स्रोतका अनुसार यदि कोइराला संस्थापन पक्षसंग नजिक हुँदै गएमा आगामी १५ औं महाधिवेशनमा सभापति बन्न उनी १४ औं महाधिवेशनको आफ्नै समुहका महामन्त्री गगन थापासँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

