ऋषि धमला पत्नी एलिजाले ५ महिनामै राजनीति छाडिन्
धरान पुगेर भनिन्-'अब समाजसेवा गर्छु'
काठमाडौं, २१ असार । नायीका एवं नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य एलिजा गौतमले अब सक्रिय राजनीति नगर्ने बताएकी छिन् ।
पत्रकार ऋषि धमलाकि पत्नीसमेत रहेकी एलिजा गौतम २०७९ माघ १४ गते नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन् । त्यस लगत्तै रेशम चौधरीको रिहाइ नभए ‘आगो बाल्छु’ भन्ने अभिव्यक्ति दिएर चर्चामा आएकी गौतम रेशको रिहाई पछि कैलाली पुगेर पार्टी काममा समेत सक्रिय थिइन्।
पछिल्लो समय सो पार्टीको कार्यक्रम भन्दा समाजसेवामा लाग्ने भन्दै धरान उपमहानगरपालिका पुगेकी गौतमले हर्क साम्पाङको श्रम शिविरस्थल पुगेपछि राजनीति नगर्ने बताएकी हुन् ।
एलिजाले हर्क र उनको कामकोबारेमा लेखेकी छन्, ‘उहाँप्रति सधैँ उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ । आज उहाँको श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको छ । म निकै खुशी छु ।सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षरोपण गर्ने अवसर पाएँ । श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छु । यहाँहरूले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपिल गर्दछु ।’
उनले थपेकी छन्, ‘दलको सक्रिय राजनीति गर्नेहरूलाई एकचोटी धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु । यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु।’

