प्रचण्डलाई एमाले नेताको कटाक्ष: अब सत्य स्वीकार्नुस्, आँ–उँ नगर्नुस्, प्लिज !

काठमाडौं, २१ असार । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्य स्विकार्दै परिणामको सामना गर्न आग्रह गरेका छन् ।
सदनमै प्रधानमन्त्रीको राजीनामा मागिरहेको एमालेले प्रधानमन्त्री प्रचण्डले एउटा सार्बजनिक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभाको बैठक समेत अवरुद्ध गरेको छ।
प्रधानमन्त्री प्रचण्डले केही दिन अगाडी प्रीतम सिंहको पुस्तक बिमोचन गर्दै प्रीतम सिंह आफुलाइ प्रधानमन्त्री बनाउन भारतको दिल्लीदेखी नेपालका राजनीतिक दलका घरदैलो सम्म पुग्थे भनेर दिएको अभिव्यक्तिमा एमाले लगायत दलको आपत्ति रहेको थियो।
यस्तो छ रिमालको स्टाटस:
सत्य स्वीकार्नुस्, परिणामको सामना गर्नुस् प्रधानमन्त्रीजी!
हिजो ‘हाउस’ले प्रधानमन्त्रीलाई प्रश्न गरेछ– तपाईँलाई कसले प्रधानमन्त्री बनायो?
उहाँले सदनको सामना गर्नु पर्थ्यो । तर्कबाट हैन, तथ्यबाट आफ्नो भनाइको अन्तर्य स्पष्ट पार्नु पर्थ्यो। तर प्रधानमन्त्रीले गलत बाटो लिनु भयो । ‘हाउस’मा हैन, अन्यत्रबाटै “त्यसो हैन, यसो भनेको” भन्दै फेरि ‘भ्रम’ फिंजसउँनेतिरै लाग्नु भयो । आफ्ना ‘प्रोपोगण्डा–मेकानिजम’ परिचालनमा समय खर्चिनु भयो ।
प्रधानमन्त्रीजी, तपाईँको आफ्नै भ्वाइस छ– सुन्नेले सुनेकै छन्, हेर्नेले हेरेकै छन् । आफ्नो हैन, सरदारको कुरा ‘कोट’ गरेको भन्नुभयो । त्यही बेला ‘तपाईँ’को ‘सरदार’ले प्रेस मिट गर्दै अर्कै कुरा भन्दै हुनुहुन्थ्यो ।
‘ढाँटेको कुरा काटे मिल्दैन’ क्या! तपाईँले आफू जे हो, त्यही हुँ भन्नु भयो । ठीकै छ नि । नकाब उत्रिँदा, छोपिएको अनुहारलाई कठिन हुन्छ नै ।
अब सत्य स्वीकार्नुस्, परिणामको सामना गर्नुस् । अति भयो, थप आँ–उँ नगर्नुस्, प्लिज !

