लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

दाङ, २१ असार । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।

अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाको बैठकमा प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव ध्वनि मतको आधारमा बहुमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गरे ।

आगामी आवका लागि प्रदेशसभामा सरकारका तर्फबाट अर्थमन्त्री मास्कीले यही असार १ गतेका लागि रु ४० अर्ब ४७ करोड ८९ लाख ९७ हजार बराबरको बजेट प्रस्तुत गरेका थिए । सरकारले ल्याएको बजेटमा असहमति जनाउँदै प्रमुख प्रतिपक्ष दल एमालेले विरोध गर्दै आएको थियो । यही कारण चार पटकसम्म सदन अवरुद्ध हुन पुगेको थियो ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र प्रमुख विपक्षीबीच मङ्गलबार भएको वार्तापछि प्रदेशसभाको बुधबारको बैठक सञ्चालन भएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय