मलेसिया ३१ रनमै अलआउट, नेपाल एसिसी यु-१६ कप च्याम्पियन

काठमाडौं, १९ असार । नेपालले एसिसी यु-१६ इस्टर्न जोन कप क्रिकेटको उपाधि जितेको छ । मङ्गलबार भएको फाइनलमा आयोजक मलेसियालाई हराउँदै नेपालले लगातार तेस्रोपटक उपाधि जितेको हो ।
नेपालले मलेसियालाई २२१ रनले हरायो । नेपालले दिएको २५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा ३१ रनमै अलआउट भयो । मलेसियाका मुहम्मद अक्रमले सर्वाधिक १० रन बनाए । पाँचजना ब्याटर शून्यमा आउट भएका थिए ।
नेपालका लागि कप्तान अभिषेक तिवारीले ६ ओभरमा ७ रन मात्र दिएर ५ विकेट लिए भने सन्तोष यादवले ३ ओभरमा ९ रन दिएर ३ विकेट लिए । सागर गैह्रे र अशोक धामीले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २५२ रन बनाएको थियो । नेपालका लागि नरेन भट्टले शतकीय पारी खेले । उनी ८९ बलमा ११२ रनमा अविजित रहे । त्यसैगरी निरज यादवले ४७ रन बनाए । मलेसियाका मोहम्मद अक्रमले ३ विकेट लिएका थिए ।
प्रतियोगिताका सबै खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै अपराजित रहन सफल भयो ।

