तिङ्करको सिमा स्तम्भमै ‘नवल खड्का’ पुस्तक विमोचन

दार्चुला । राष्ट्रवादी चलचित्र निर्माण गर्ने चर्चित लेखक एवं निर्माता समेत रहेका अभिनेता नवल खड्काले आफ्नो पछिल्लो कृति ‘नवल खड्का’ पुस्तक दार्चुलाको तिङ्कर भञ्ज्याङ (५,२५८ मिटर) स्थित १ नम्बर जङ्गे सीमा स्तम्भमै पुगेर विमोचन गरेका छन् ।
‘काँडेतार’ ‘भिमदत्त’ जस्ता राष्ट्रवादी चलचित्रका नायक समेत रहेका लेखक नवल खड्काको पुस्तक ‘नवल खड्का’ यतिबेला चर्चामा छ। उनले ती चलचित्र सहित यो पुस्तकको आम्दानीबाट केही रकम नेपाल-भारत सिमानामा काँडेतार लगाउन सहयोग गर्ने पनि भनेका छन् । उनी सिमामा काँडेतार लगाउनुपर्छ भन्ने अभियानमा सक्रिय पनि छन् । चलचित्रमा पनि उनले भारतले नेपालको सिमा कसरी मिचेको छ र सिमामा बस्ने नेपालीको अवस्था कस्तो छ भन्ने विषय उठाउदै आएका छन् ।
राष्ट्रिय जेन्जी नागरिक अभियानका संयोजक सुनिल सिंहको अध्यक्षतामा सम्पन्न पुस्तक विमोचन कार्यक्रममा अभियानका सचिव प्रकाश बम, कार्यक्रममा सहसंयोजक अजय सोडारी र स्थानीय पत्रकार मनोज बडुले शुभकामना दिएका थिए।
त्यसक्रममा अजय सोडारीले देश, राष्ट्रियता र स्वाभिमानको पक्षमा चलचित्र निर्माण गर्ने तथा पुस्तक लेख्ने व्यक्तिलाई “भारत विरोधी” जस्तो संकुचित आरोप लगाइनु दुःखद भएको बताए।
पत्रकार मनोज बडुले ५,२५८ मिटर उचाइमा रहेको तिङ्कर भञ्ज्याङको १ नम्बर सीमा स्तम्भमै पुगेर पुस्तक विमोचन गर्नु ऐतिहासिक र साहसिक कार्य भएको उल्लेख गर्दै नेपाली चलचित्र क्षेत्रका कुनै पनि नायक वा निर्माताले यसअघि यस्तो अभियान सञ्चालन गरेको जानकारी आफूलाई नभएको बताए। उनले नवल खड्काको राष्ट्रप्रेम, साहस र समर्पणको प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गरे।
अध्यक्ष सुनिल सिंहले स्वदेशी चलचित्रको पक्षमा उभिनु कुनै राष्ट्रको विरोध नभई आफ्नै देशप्रतिको सम्मान, जिम्मेवारी र आत्मगौरव भएको बताए। उनले देशभक्त कलाकार नवल खड्काको योगदानलाई राज्यले समयमै सम्मान गर्नुपर्ने भन्दै नवल खड्कालाई ‘देशप्रेमको सशक्त आवाज’ भएको बताए।
त्यस्तै प्रकाश बमले राष्ट्रभक्तिपूर्ण चलचित्र निर्माणका क्रममा विभिन्न बाधा, अवरोध र प्रतिबन्धको सामना गरेका लेखक नवल खड्काले आफ्ना अनुभवहरू समेटेर लेखेको ‘नवल खड्का’ पुस्तकले हरेक नेपालीलाई राष्ट्रका पक्षमा आवाज उठाउन, देशप्रती कर्तव्यबोध र दायित्व निर्वाह गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।

लेखक नवल खड्काले आफ्नो ‘नवल खड्का’ पुस्तक तथा ‘भिमदत्त’ र ‘काँडेतार’ चलचित्रबाट प्राप्त हुने मुनाफाको ५० प्रतिशत हिस्सा राष्ट्रको सीमा सुरक्षा र राष्ट्रिय स्वाभिमानका लागि समर्पण गर्ने घोषणा गरे।
उनले सीमामा सीसी क्यामेरा जडान, नेपाली सेनालाई सीमा सुरक्षाको पूर्ण जिम्मेवारी, १६ वर्ष उमेर पुगेका प्रत्येक नेपालीलाई आधारभूत सैनिक तालिम प्रदान गर्ने व्यवस्था, तथा ‘शान्ति क्षेत्र नेपाल’ घोषणालाई पुनर्जीवित गर्नुपर्ने माग गरे।
यसैगरि तिङ्कर भञ्ज्याङमा भ्यूटावर निर्माण गरी त्यहाँबाट कैलाश–मानसरोवरको दर्शन गर्न सकिने वातावरण तयार गर्न सरकारसँग खड्काले आग्रह गरे। यस्तो पूर्वाधार निर्माण गर्न सके धार्मिक तथा पर्यटकीय पर्यटनको ठूलो सम्भावना खुल्ने, स्वदेशी तथा विदेशी पर्यटक आकर्षित हुने र नेपालले वार्षिक रूपमा अर्बौं रुपैयाँ आम्दानी गर्न सक्ने उनको भनाइ थियो।

