२५ वर्षसम्म रहस्यमै ‘दरबार हत्याकाण्ड’


काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २५ वर्षसम्म पनि सत्यतथ्य सार्वजनिक हुन सकेको छैन । सो हत्याकाण्डलाई राजनीतिक दलका नेताहरुले आफ्नै किसिमले व्याख्या गर्ने गरेका छन् ।

अधिकांश राजनीतिक दलका नेताहरु दरबार हत्याकाण्डलाई गम्भीर षड्यन्त्र भनिरहेका तर आफू सत्तामा रहेकाबेला छानबिन गर्न भने हिच्किचाइरहेका छन् । अहिले झण्डै दुई तिहाईको सरकार छ। सायद यसले चाहेमा हत्याकाण्ड बारे केही तथ्य बाहिर ल्याउन सक्छ।

राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको नारायणहिटी दरबारभित्र एकसाथ हत्या गरिएको थियो ।

त्यसैले २०५८ साल जेठ १९ गते भएको यो घटनालाई नारायण दरबार हत्याकाण्डले चिनिन्छ । घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर राणा र केतकी चेस्टर घाइते भएका थिए । तर, घटना अहिलेसम्म पनि रहस्यमय नै छ । हत्याकाण्ड लगत्तै दरबारकै निगाहमा बनेको छानबिन समितिले युवराज दीपेन्द्रबाट हत्या भई आफूले आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरी औपचारिकता निभायो ।

दीपेन्द्रले ‘आफूले भनेकी युवतीसँग विवाह गर्न नपाएको झोंक र नसा सेवन गरेको अवस्थामा राजपरिवारका सदस्यहरूलाई मारी आफूले पनि आत्महत्या गरेको’ विवरण सार्वजनिक गरेको थियो । तर यसले आम स्वीकार्यता पाउन सकेको छैन । यो कुरामा सत्यता नभएको धेरैले बुझेका छन् तर, थाहा हुनेले पनि सत्य बोल्न डराएको पनि हुनसक्छ । दरबार हत्याकाण्डलाई नेपालको इतिहासमा गणतन्त्रको बलियो बीउ रोप्ने एउटा घटनाका रूपमा पनि चित्रण गरिन्छ ।

किनकी २०६२/६३ को जनआन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र साह उक्त हत्याकाण्डको दोषी रहेको भन्दै नारा घन्किएको थियो । दरबार हत्याकाण्डलाई राजनीतिक दलहरूले आफ्नो अनुकुलतामा ब्याख्या गर्ने गरेका छन् ।

विशेषगरि पूर्वराजा ज्ञानेन्द्र सक्रिय भएका बेला दरबार हत्याकाण्डको बढि चर्चा हुने गरेको छ । दरबार हत्याकाण्डबारे पूर्वराजा ज्ञानेन्द्रले पनि २५ वर्षसम्म मुख खोलेनन् । तर २ वर्ष अघि मात्रै नागरिक अभिनन्दनका क्रममा वीरगञ्ज पुगेका बेला उनले आफू र आफ्नो परिवार निर्दोष रहेको अभिब्यक्ति दिएका थिए । राजनीतिक जालझेल गरि धेरैको मनमा भ्रमको बादल बनाई आफ्ना परिवार विरुद्ध नकारात्मक भावना फैलाएको भन्दै सत्य सधै सत्य हुने उनको भनाइ थियो ।

पूर्वराजा शाहको अभिव्यक्तिपछि राजनीतिक दलका नेताहरु तरंगित हुँदै दरबार हत्याकाण्डबारे आआफ्ना बुझाइ र ठम्याइ सार्वजनिक रुपमा अभिव्यक्त गरे ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दरबार हत्या राजनीतिक दलले नगरेको दाबी गरेका छन् । तर यो हत्याकाण्ड भयानक षडयन्त्र भएको अभिब्यक्ति दिएर उनले पनि राजनीति मात्रै गरे । यद्यपि उनको आरोप पूर्वराजा ज्ञानेन्द्र लक्षित थियो ।

त्यस्तै, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्ड पुनः छानबिन गर्ने सावजानीक घोषणा नै गर्ने गरेका छन् । तर त्यो प्रक्रिया अघि बढेको छैन । अहिले केपी प्रचण्डको सत्ता पनि छैन । हुँदा पनि केही गरेनन् ।

२५ वर्षको अबधिमा कयौं पटक सरकार फेरबदल भए पनि कुनै पनि सरकारले दरबार हत्याकाण्ड पुनः छानबिनमा ध्यान केन्द्रीत गरेको छैन । मात्र आफ्नो अनुकुलताको व्याख्या गर्ने गरेको छ ।

दरबार हत्याकाण्ड आम नागरिकको भावनासँग पनि जोडिएकाले राजनीतिक दलको अस्त्रका रुपमा प्रयोय गरिन बन्द गरिनुपर्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय