चलचित्र ‘रोल नं १’को गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘रोल नं १’को गीत सार्वजनिक भएको छ । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको सिनेमाको टाइटल सङ रिलिज भएको हो ।
टाइटल सङमा प्रशान्त शिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको छ ।सार्वजनिक गीतले नेपाली शिक्षा प्रणाली र विद्यालय तहमा हुने ‘र्याङ्किङ’ (श्रेणी) को दौडमा बालबालिकाले भोग्नुपर्ने दबाबलाई मुख्य विषय बनाएको छ । जसमा एक ग्रामीण भेगको बालकको कथा देखाइएको छ । गीतका शब्दहरूले ‘अरू सबै मुर्ख, एउटै मात्र विद्वान’ भन्दै विद्यालयमा पहिलो हुने विद्यार्थीलाई मात्र सम्मान दिने सामाजिक सोचमाथि कडा प्रहार गरेको छ ।
गीतले बालमनोविज्ञान केलाउने प्रयास गरेको छ । पढाइसँगै गलत शैक्षिक प्रणालीका कारण बालबालिकामा त्यसको कस्तो असर पर्छ भन्ने यो सिनेमाको मुख्य कथा हो । सिनेमाको यही थिमको वरपर रहेर चलचित्रको गीत तयार भएको छ ।
भिडियोमा हिमाली भेगको सुन्दर दृश्य, ढुङ्गाले बनेका परम्परागत घर र ग्रामीण स्कुलको जनजीवनलाई बडो कलात्मक ढंगले उतारिएको छ । एकातिर बालकले मैनबत्तीको उज्यालोमा अबेरसम्म पढ्नुपर्ने बाध्यता छ भने अर्कोतिर साथीहरूसँग भलिबल खेल्ने र घुम्ने उसको रहरलाई दबाइएको देखिन्छ । ‘रट्टा मार’ भन्दै विद्यार्थीलाई बुझ्नुभन्दा पनि घोक्न लगाइने प्रवृत्तिलाई गीतले व्यङ्ग्य गरेको छ ।
गीतले सिनेमालाई अपिलिङ बनाउने बल राख्ने देखिएको छ । भविष्य उज्योजा बनाउन स्कुल जाने विद्यार्थीमा उल्टै कस्तो असर परिरहेको छ देखाउने प्रयास गीतमार्फत गरिएको छ ।
‘हरेक विद्यार्थीको कथा’ स्लोगन दिएको विनोद पौडेलको चलचित्र ‘रोल नं १’ जेठ १५ गते (गणतन्त्र दिवस)बाट नेपालभरका हलमा प्रदर्शन हुँदैछ ।

