काठमाडौं-३ : जहाँ जातिवाद र लोकप्रियतावाद बिक्दैन

काठमाडौं महानगरपालिका वडा नम्बर-६ सहित गोकर्णेश्वर नगरपालिका सबै र कागेश्वरी नगरपालिकाको तीन वटा वडा समेटिएको काठमाडौं निर्वाचन क्षेत्र नम्बर-३ मा यसपटक पनि चुनावी प्रतिस्पर्धा रोचक हुने देखिन्छ।
गाउँदेखि शहरसम्म फैलिएको यो क्षेत्रमा कागेश्वरी नगरपालिकाका वडा नम्बर-१,२ र ३ पर्दछ। जुन शिवपुरीदेखि गागल फेदी हुँदै भद्रवास सम्म आइपुग्छ। त्यसैगरी गोकर्णेश्वर नगरपालिकाको ९ वटै वडा यसै निर्वाचन क्षेत्रमा पर्दछ। यो पनि शिवपुरीदेखि ओख्रेनी,सुन्दरीजल,तारेभिर र गोकर्ण हुँदै माकलबारी,आरुवारी,नाराणटार,जोरपाटी,नयाँ बस्तीदेखि काठमाडौं महानगर सम्म जोडिन्छ। यहीँ भित्र महानगरको वडा नम्बर-६ पनि यहि निर्वाचन क्षेत्र हो। जहाँ चुच्चेपाटीदेखि बौद्ध,महांकाल,सरस्वतीनगर, रामहिटी,रुद्रेश्वर र कुमारीगाल सम्म समेटिन्छ।
जनजाति र खस आर्यको मिसमास बाहुल्यता भएको यो क्षेत्रमा अन्य जातजातिको पनि बसोबास छ। बढ्दो शहरीकरणसँगै बाहिरी जिल्लाबाट आएकाहरु थपिदै गएपनी पुराना बासिन्दाकै बाहुल्यता रहेको यो क्षेत्रमा यसपटक स्थानीय उम्मेदवारहरु नै बढी छन् । नेपाली कांग्रेसका रमेश अर्याल (गोकर्णेश्वर-६ अर्यालगाउँ), नेकपा एमालेका रामेश्वर फुयाल (कागेश्वरी-२ आलापोट), नेकपा उम्मेदवार निरज लामा (कामपा-६,बौद्ध), प्रगतिशील लोकतान्त्रिक पार्टीका डा.शेखर अर्याल (गोकर्णेश्व-६) र राप्रपा उम्मेदवार सुन्दरसिंह बोहोरा (gonapaa -६) कै स्थानीय उम्मेदवार हुन् । यद्यपि उज्यालो नेपालका उम्मेदवार कुलमान घिसिङ रामेछाप भएपनी अहिले कामपा-६ मै बस्छन् भने रास्वपा उम्मेदवार राजुनाथ पाण्डे पनि आफुलाई गोकर्णेश्वरमै हुर्केको भनिरहेका छन् । यद्यपि रमेश अर्याल र रामेश्वर फुयाल जत्तिको परिचीत कुलमान घिसिङ र राजु पाण्डे होइनन् ।
चुनावी प्रतिस्पर्धामा आउनु अघि जनप्रतिनिधि भएर नै काम गरेका रमेश अर्याल र रामेश्वर फुयालको स्थानीयसँग राम्रो सम्बन्ध र परिचीत छन् । अर्याल ०७४ देखि ०७९ सम्म गोकर्णेश्वर नगरपालिका वडा नम्बर-६ का वडा अध्यक्ष हुन् । यो समयमा स्थानीयसँग उनले आफुलाई अब्बल जनप्रतिनिधिको रुपमा चिनाइसकेका छन् । त्यसयता पनि उनले सामाजिक र धार्मिक काममा स्थानीयको मन जितेका छन् । रामेश्वर फुयाल पनि संघीय सांसद हुँदै प्रदेश मन्त्री सम्म भए। यद्यपि उनले कागेश्वरीका वडामा बाहेक अन्यत्रका जनताको गुनासो सुनेनन भन्ने आरोप खेपिरहेका छन् ।
तर, कुलमान घिसिङ माओवादी नेतृत्वको सरकार हुँदा विद्युत प्राधिकरणको कार्यकारी भएर जनताको मन जितेका थिए। उनी कुशल कर्मचारी भएपनी राजनीतिमा अनुभवी होइनन् । उता पाण्डे काठमाडौं महानगर प्रहरी प्रमुख भएर काम गरेकोले चर्चामा छन् । यद्यपि बालेन साहको इमानदार सिपाही हु भनेर आफुलाई चिनाइरहेका पाण्डेका सुकुम्बासी र सडकमा व्यापार गर्नेदेखी खोला किनारका स्थानीयसँग सधैं नोकझोक चलिरहेको हुन्थ्यो। उनलाई पनि काठमाडौं ३ का मतदाताले खासै चिनेको देखिदैन तर, घन्टी पार्टीको उम्मेदवार भनेर चाहिँ चिनिरहेका छन् ।
अब कुरा गरौं काठमाडौं ३ का जनताको रोजाइका बारेमा। १० बर्षे माओवादी जनयुद्धमा सबैभन्दा बढी उठेको बिषय महिला,दलित,जनजातिका मुद्दा हुन् । यो मुद्दामा सहमत भएर धेरैले ०६४ को निर्वाचनमा माओवादीलाई मत दिएपनी काठमाडौं ३ ले भने माओवादी मुद्दा सहि हुँदाहुँदै पनि त्यो भन्दा बढी आफ्नै क्षेत्रको स्थानीय उम्मेदवारलाई रोजेको देखियो। यहाँ जनजाति मत निर्णायक हुँदा पनि माओवादी उम्मेदवार पराजित भए। नेपाली कांग्रेसका चक्रबहादुर ठकुरीले चुनाव जिते। काठमाडौंका १० निर्वाचन क्षेत्र मध्य काठमाडौं-३ मा ठकुरी सहित ६ वटा सिटमा नेपाली कांग्रेस र ४ वटामा माओवादी उम्मेदवार विजयी भए। यसबाट के बुझिन्छ भने भोट खसाल्ने समयमा मतदाताले पार्टी र एजेन्डासँगै उम्मेदवारका बारेमा पनि ध्यान दिने रहेछन् । माओवादी जगजगी हुँदा पनि काठमाडौं-३ ले भने जातीयता र लोकप्रियतालाई भन्दा आफ्नै गाउँ ठाउँको उम्मेदवार रोजाइमा सचेतता अपनाएको देखिन्छ। ०६४ को संविधान सभा निर्वाचनमा जातीय मुद्दामा पनि माओवादी अगाडि थियो र तत्कालीन समयमा लोकप्रिय पनि देखिन्थ्यो। यद्यपि काठमाडौं-३ को चुनावी परिणाम उसको पक्षमा गएन।
अहिले १८ बर्षपछी पनि यहाँ अवस्था उस्तै उस्तै देखिन्छ। जातीयताको कुरालाई मुख्य मानेर आएका उम्मेदवार र लोकप्रियताको नारा घन्काएर आएका उम्मेदवार भन्दा स्थानीय उम्मेदवार मै जनताको आकर्षण देखिन थालेको छ। सस्तो लोकप्रियताको नारा बोकेर आउने र जातिगत भोटमा अल्मलाउन खोज्ने उम्मेदवारलाई जनताले ‘हुन्छ, हुन्छ’ भनेपनी मत चाहिँ स्थानीय र पुरानै दलका उम्मेदवारलाई दिने देखिन्छ।
यहाँ कांग्रेसले भद्र,शालीन र जनपक्षीय ब्यक्तित्व रमेश अर्याललाई उम्मेदवार बनाएपछि धेरैले उनका बारेमा सकारात्मक चर्चा गर्न थालेका छन् । ‘बदलिएको कांग्रेसले सहि र योग्य उम्मेदवार नै उठाएको’ भन्दै घरदैलोमा स्थानीयले देखाएको मायाले रमेशलाई जित्न सजिलो हुने मतदाता बीच चर्चा चल्न थालेको छ । ०७९ मा पनि यो क्षेत्रमा कांग्रेसकै सन्तोष चालिसे विजयी भएका थिए। त्यतिबेला पनि रास्वपाले लोकप्रियताको नारा दिएर आएको थियो। रास्वपा र उज्यालो नेपाल पार्टीका उम्मेदवारले यसपटक पनि आफ्नो चुनावी नारामा जातीयता र लोकप्रियताको नारा बढी उठाएको भन्ने गुनासो यहाँका मतदाताले गरिरहेका छन् । यसर्थ यहाँका मतदाताले ०६४ देखि नै अस्विकार गरेको जातियता र लोकप्रियताको नारालाई यसपटक पनि कांग्रेसले आफ्नो दर्हो हतियारको रुपमा प्रहार गर्ने र चुनावी नतिजा आफ्नो पक्षमा पार्ने तयारी गरेको देखिन्छ।

