कांग्रेसले गरेका कामले मलाई जनताको साथ हुनेछ-रमेश अर्याल

 

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर-३ का उम्मेदवार रमेश अर्यालले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा आफुले जित्ने आधार यसअघि बनेको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर-३ ले शनिबार जोरपाटीमा आयोजना गरेको निर्वाचन लक्षित कार्यक्रमलाई सम्बोधन गर्दै अर्यालले सो कुरा बताएका हुन् । उनले नेपाली कांग्रेसबाट यस अघि निर्वाचित प्रदेश एवं संघीय सांसदले ल्याएका योजना,स्थानीय सरकारमा रहेर मेयर एवं वडा अध्यक्षहरुले गरेको काम र आफैं पनि जनप्रतिनिधि हुँदा गरेका कार्यबाट अहिलेको चुनाव जित्ने आधार बनेको बताए।

यो क्षेत्रमा कांग्रेसले चक्रबहादुर ठकुरी,सन्तोष चालिसेलाई संघीय सांसद र छिरिङ दोर्जे लामा र विमल ठकुरीलाई प्रदेश सांसद जिताइसकेको छ। यसैगरी कागेश्वरी र गोकर्णेश्वर नगरपालिकाको मेयर समेत काङ्ग्रेसले नै जितेको छ। जसले गर्दा जनतासँग नेपाली कांग्रेस नजिक रहेको र समस्यालाई बुझेर त्यसको समाधान गर्न तत्पर रहेको पनि अर्यालले बताए।’म हिजोका कामलाई निरंतरता सहित नयाँ योजना लिएर जनताको सेवामा हाजिर हुनेछु’ अर्यालले भने-‘सुशासन, पारदर्शिता र विकासलाई मैले मुख्य प्राथमिकतामा राखेर काम गर्नेछु। जनताको आशा र भरोसालाई कहिल्यै मर्न दिनेछैन।’

यसैगरी काठमाडौं क्षेत्र नम्बर-३ लाई व्यवस्थित सहरी पूर्वाधार, सुरक्षित खानेपानी, प्रभावकारी फोहोर व्यवस्थापन र यातायात सुधारका माध्यमबाट नमुना क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता समेत अर्यालले जनाए । ‘म भाषणमा होइन काममा विश्वास गर्छु’ उनले भने-,’जनताको अपेक्षा विकास र समृद्धि हो,मैले पनि त्यसैलाई आफ्नो कर्तव्य ठनेको छु ।’

कार्यक्रममा अर्थ समितिका पूर्व सभापति एवं निवर्तमान सांसद सन्तोष चालिसे,गोकर्णेश्वरका मेयर दिपक कुमार रिसाल,नगर प्रवक्ता एवं गोकर्णेश्वर-५ का वडा अध्यक्ष नारायण सुवेदी,परशुराम पोखरेल,नानु दाहाल, विष्णुदेवी पुडासैनी,लेखकुमारी पुडासैनी  लगायतले चुनावी परिणाम कांग्रेसको पक्षमा ल्याउने प्रतिवद्धता जनाएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय