काठमाडौं-३ मा रमेश मार्फत कांग्रेसकै निरन्तरता

काठमाडौं निर्वाचन क्षेत्र नम्बर-३ मा यसपटक पनि नेपाली कांग्रेसले बाजी मार्ने भएको छ। २०७९ मा पनि यो क्षेत्रमा नेपाली कांग्रेसका सन्तोष चालिसेले जितेका थिए।
देशका १६५ निर्वाचन क्षेत्र मध्य केही क्षेत्रको चुनावी भिडन्त रोचक हुनेवाला छ। झापा-५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा नेता बालेन साह, सर्लाही-४ मा कांग्रेस सभापति गगन थापा र भर्खरै रास्वपा प्रवेश गरेका कांग्रेस कै पूर्व नेता अमरेश कुमार सिंह,रौतहट- १ पूर्वप्रधानमन्त्री एवं नेकपा नेता माधवकुमार नेपाल र अनिल झाको भिडन्त रोचक हुनेछ।
त्यस्तै यसपटक काठमाडौं क्षेत्र नम्बर ३ पनि चुनावी चर्चामा छ। यहाँ नेपाली कांग्रेसले स्वच्छ छवि भएका शालीन र भद्र नेता रमेश अर्याललाई उम्मेदवार बनाएको छ भने उनी संगको प्रतिस्पर्धामा उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ छन् । यद्यपि यहीँबाट एमाले नेता रामेश्वर फुयाल र काठमाडौं महानगरका पूर्व प्रहरी प्रमुख राजु पाण्डेले पनि प्रतिस्पर्धा गर्दैछन् । नेकपाले निरज लामालाई उम्मेदवार बनाउदा राप्रपाले सुन्दर सिंह बोहोरा र प्रगतिशील लोकतान्त्रिक पार्टीले ड.शेखर अर्याललाई उठाएको छ।
तर, काठमाडौं ३ को मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र एमालेकै बिचमा हुने अनुमान गरिएको छ। यद्यपि उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङको चर्चा पनि भैरहेको छ। तर, कांग्रेसलाई आफ्नो बर्चस्व जोगाउने दबाब रहेकोले चुनावी परिणामका लागी पार्टी नेताहरू खटिइरहेका छन् । अघिल्लो पटक चुनाव जितेर अर्थ समिति सभापति भैसकेका सन्तोष चालिसे नै रमेश अर्यालको चुनावी कमान्डर बनेका कारण नतिजा आफ्नो पक्षमा आउनेमा कांग्रेस ढुक्क छ। यो क्षेत्रको प्रदेश (१) र प्रदेश (२) मा कांग्रेसबाटै वाग्मती प्रदेशका सांसद छिरिङ दोर्जे लामा र बिमल ठकुरी छन् । त्यसैगरी क्षेत्रकै सबैभन्दा बढी मतदाता भएको काठमाडौं महानगरको वडा नम्बर-६ का अध्यक्ष सहित सबै जनप्रतिनिधि कांग्रेसले नै जितेको छ।
उता ९ वटा वडा रहेको गोकर्णेश्वरको मेयरमा पनि नेपाली कांग्रेस कै युवा नेता दिपक रिसाल छन् । रिसालको काम स्थानीयले मनपराएका कारण कांग्रेसलाई भोट माग्न सजिलो पनि छ। गोकर्णेश्वर नगरपालिका भित्र शिक्षा,स्वास्थ,खानेपानी लगायत पूर्वाधारका क्षेत्रमा दिपक रिसाल नेतृत्वको टिमले जनताको मन जित्नेगरी काम गरिरहेको छ। यसै निर्वाचन क्षेत्रमा कागेश्वरी नगरपालिका भित्रको १,२ र ३ नम्बर वडा पनि पर्छ। जहाँ मेयर नेपाली कांग्रेस कै उपेन्द्र कार्की छन् । त्यसैले यो क्षेत्रमा पर्ने स्थानीय निकायमा जनप्रतिनिधि जितेको काङ्ग्रेसले जनताको गुनासो र अपेक्षा सुन्न उम्मेदवारलाई घरदैलोमै पुर्याउन जरुरी छैन। आफ्ना इकाई र क्षेत्रमै रहेका नेताकार्यकर्तालाई सहि परिचालन गर्न सके कांग्रेस उम्मेदवार अन्य उम्मेदवार भन्दा निकै अगाडि हुनेछन् ।
उता कांग्रेसले उम्मेदवार बनाएको रमेश अर्याल गोकर्णेश्वर-६ जोरपाटी अर्यालगाउँ कै स्थानीय उम्मेदवार हुन् । त्यसमाथि उनी २०७४ देखि २०७९ सम्म गोकर्णेश्वर-६ को वडा अध्यक्ष भएर जनप्रतिनिधिको रुपमा काम गरिसकेका ब्यक्ति पनि हुन् । स्थानीय तहमा परिचित अनुहार,भूगोल बुझेको,जनताको समस्या पहिचान गर्न सक्ने र आवश्यक पर्दा केन्द्रबाट बजेट ल्याएर विकास गर्न समन्वयकारी भूमिका खेल्न सक्ने भएकाले रमेश अर्यालले चुनाव जित्ने स्थानीयको भनाइ छ।
बौद्ध स्तुपादेखी गोकर्ण,उत्तरबाहिनी,सुन्दरीजल र शिवपुरीधापड्याम हुँदै कागेश्वरी धाम सम्म यसै क्षेत्रमा पर्ने भएकोले यहाँ धार्मिक एवं पर्यापर्यटनको संभावना बढी छ। त्यसैगरी वाग्मती नदीको उद्गम स्थल बागद्वारदेखि पशुपति मन्दिर सम्मको क्षेत्रलाई पनि संरक्षण गर्दै वातावरण र नदी बचाउ अभियान संचालन गर्न पनि जरुरी देखिन्छ। यी र यस्ता थुप्रै कामहरू रमेश अर्याल मार्फत गर्न सकिने भन्दै स्थानीय सरोकारवालाले समेत काठमाडौं ३ कांग्रेसले नै जित्ने अनुमान लगाएका छन् ।

