कांग्रेसको विशेष महाधिवेशन आजदेखि सुरु

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनका लागि देशभरका प्रतिनिधि काठमाडौं आइसकेका छन् ।

यद्यपि पार्टी सभापति शेरबहादुर देउवासहित अधिकांश संस्थापन पक्षका नेताहरूको भने यो विशेष महाधिवेशनमा सहभागिता हुने छैन। तर,संस्थापनको विरोधबीच पनि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा विशेष महाधिवेशन हुने भएको हो । सुरुमा हस्ताक्षर गर्ने ५४ प्रतिशत भएपनी यो संख्या अझै बढेर ६१ प्रतिशत पुगेको आयोजकको दाबी छ।

काठमाडौंको भृकुटीमण्डपमा हुने विशेष महाधिवेशनको सभापतित्व काठमाडौं कांग्रेसका सभापति सबुजकृष्ण बानियाँले गर्नेछन् । महाधिवेशन आज र भोलि चल्नेछ। महाधिवेशन उद्घाटन अघि काठमाडौंका विभिन्न क्षेत्रबाट र्‍याली निस्कने र भृकुटीमण्डप पुगेपछि दिउँसो १ बजे विशेष महाधिवेशन उद्घाटन हुनेछ। विशेष महाधिवेशन पक्षधरले सभापति देउवालाई प्रमुख अतिथिका रूपमा निम्तो गरेपनि देउवा सचिवालयले रोकेपछि स्थिति झन् बिग्रेको छ।देउवा निकट केही नेताको उक्साहटका कारण विशेष महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिलाई समेत धम्क्याउने र हस्ताक्षर फिर्ता लिएको कागजमा सहि गराउने क्रम पाइएको आयोजकको गुनासो छ।

विशेष महाधिवेशन आयोजक समितिले आफ्नो पक्षमा ६१ प्रतिशत महाधिवेशन प्रतिनिधि उभिएको दाबी गरेको छ। विशेष महाधिवेशनको माग गर्दा असोज २९ गते ५४.५८ प्रतिशतले हस्ताक्षर गरेका थिए। त्यो संख्या बढ्दो रहेको उनीहरूको भनाइ छ। तर,संस्थापनका तर्फबाट भने ४७ जिल्ला सभापतिहरूको बिज्ञप्ति निकालेर विशेषको विरुद्ध उभिएको सन्देश दिन खोजिएको छ। पछिल्लो समय सभापति देउवालाई लामो समय साथ दिएका पूर्वउपसभापति गोपालमान श्रेष्ठ पनि विशेष महाधिवेशनका पक्षमा खुलेका छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय